कोबीले बजार पाएपछि किसान हर्षित

184


फूलकोबीले यस वर्ष राम्रो बजार पाएपछि सर्लाहीका किसान खुशी भएका छन् ।
सर्लाहीको किसनपुर, बबरगञ्ज, बेला, रामनगर, बिर्ता लगायतका क्षेत्रमा फूलकोबीको व्यवसायिक खेती हुन्छ । त्यहाँका किसानले उत्पादन गरेको कोबी अहिले धमाधम जिल्लाको मुख्य व्यापारिक केन्द्र लालबन्दी बजारमा ल्याएर बिक्री गरिरहेका छन् । किसानले कोबी बिक्रीका लागि टायरगाढामा हालेर बजारसम्म ल्याउने गरेका छन् ।
त्यसरी ल्याइएको कोबी प्रतिकिलो १० देखि १२ रुपैयाँ सम्ममा बिक्री भइरहेको ईश्वरपुर नगरपालिका–९, रामनगरका किसान लालबाबु महतोले उज्यालो अभियानसँग बताए । महतोसँगै पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारमा दैनिक आधा दर्जन बढी किसानले टायरगाढामा हालेर कोबी बिक्री गर्न ल्याउने गरेका छन् ।
किसानले राजमार्ग छेउमै राखेर बिक्री गर्ने कोबी बजारको तुलनामा कम मूल्यमा पाईने हुँदा कोबी किन्ने उपभोक्ताको भीड लाग्ने गरेको छ । अहिले कोबी उत्पादनको मुख्य याम भएकाले बिक्री गर्ने चटारो परेको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका किसान मिथिलेस महतोले जानकारी जानकारी दिए ।
पछिल्लो समय जिल्लाको दक्षिणी भेगका किसानले तरकारी बिक्रीका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रको जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजार ल्याउन थालेका छन् । लालबन्दी बजारमा जस्तो सुकै तरकारी उत्पादन गरेर ल्याउँदा पनि बिक्री हुँदा आयआर्जनमा टेवा पुगिरहेको किसानहरुले बताएका छन् ।