प्रदेश नं. २ डान्स आइडल फागुन २१ बाट


यही फागुन २१ गतेबाट प्रदेश नं. २ डान्स आइडल (खुल्ला नृत्य प्रतियोगिता) हुने भएको छ ।
आयोजक असंथुपिका कला केन्द्र लालबन्दीले सोमवार पत्रकार सम्मेलन गरी फागुन २१ गतेबाट अडिसन सुरु गरी वैशाख अन्तिमसम्म खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको जानकारी गराएको हो । नृत्य क्षेत्रमा रुची राख्नेहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको असंथुपिका कला केन्द्र लालबन्दीका अध्यक्ष सञ्जय बलम्पाकी मगरले जानकारी दिए ।
आयोजकले प्रदेश २ मै पहिलो पटक डान्स आइडल आयोजना गरिएको दावी गरेको छ । डान्स आइडलका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुर, आर्थिक नगरी वीरगञ्ज र सर्लाहीमा गरी तीन स्थानमा अडिसन गराईने आयोजक संस्थाका अध्यक्ष मगरले बताए ।
प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने बिजेतालाई क्रमश ः स्कुटर, ४२ इन्चको टेलिभिजन र ल्यापटप प्रदान गरिने आयोजकले जनाएको छ । अहिलेसम्म राष्ट्रिय स्तरमा भएका यस्ता प्रतियोगितामा प्रदेश २ का प्रतिस्पर्धीले सहभागिता जनाए पनि राम्रो प्रस्तुति दिन नसकेर सुरुमै बाहिरहेको अवस्थामा प्रदेश स्तरमै आयोजना गरिएको यस प्रतियोगिताले त्यस्ता प्रतिभाशील कलाकारहरुलाई उचित अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा नृत्य क्षेत्रमा लामो समयदेखि अनुभव बटुल्नु भएका मोहन प्रधान सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त नृत्य निर्देशकहरुलाई निर्णायक राखिने प्रतियोगिताको इभेन्ट डाइरेक्टर दीपक आले मगरले जानकारी दिएका छन् ।