उत्कृष्ट किसानलाई सम्मान गर्दै कृषि प्रदर्शनी मेलाको समापन

195


सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा आयोजना गरिएको कृषि प्रदर्शनी मेलाको आइतवार समापन गरिएको छ । किसानलाई पोत्साहन गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र मलंगवा र हरिपुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कृषि मेलाको आइतवार उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरी सम्पन्न गरिएको हो ।

कृषि मेलामा प्रदर्शनमा राखिएका खाद्यान्न, तरकारी, नगदे, जरे लगायतका ६ प्रकारका बालीमा उत्कृष्ट ठहरिएका २८ जना किसान र जिल्लाका २० पालिकाले छनौट गरेर पठाएका एक–एक जना किसान गरी जम्मा ४८ जना किसानलाई पुरस्कार स्वरुप कृषि औजारहरु प्रदान गरी मेलाको समापन गरिएको हरिपुर नगरपालिकाको कृषि शाखाकी प्रमुख अम्बिका मैनालीले जानकारी दिईन् ।

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कृषि मेला समापन समारोहमा हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले, हरिपुर नगरपालिका–७, का वडाध्यक्ष हृदयनारायण पंजियार, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख राजेन्द्र यादव लगायतको आतिथ्यता रहेको थियो ।

कृषि प्रदर्शनी मेलाको शनिवार प्रदेश २ सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले समेत अवलोकन गरेका थिए ।