सरकारले तानाशाही प्रवृत्ति देखायो : कांग्रेस उपसभापति निधी

790
कार्यक्रममा सम्बोधन गर्दै विमलेन्द्र निधी (तस्बिर : उज्यालो अभियान)
आम सभा एवं पार्टी प्रवेश कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधी र अन्य नेताहरु । (तस्बिर : उज्यालो अभियान)

धनकौल – नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले वर्तमान सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले लोकतन्त्रमा स्वच्छ आलोचना गर्नेहरुको सरकारले मुख बन्द गर्ने काम गरिरहेको बताए ।

शनिवार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित क्षेत्र नं. ४ को धनकौल बजारमा पार्टीद्वारा आयोजत आमसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस उपसभापति निधीले स्वच्छ आलोचक र मिडियालाई नियन्त्रणमा लिएर सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । उनले नेकपाका नेता एवं निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको कमिसन प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरे । प्रधानमन्त्रीले भ्रष्टाचारीलाई देख्न पनि सक्दिन भनिरहेका बेला सञ्चारमन्त्री नै भ्रष्टाचार प्रकरणमा जोडिएपछि सरकारको भनाई र गराई फरक देखिएको निधीको तर्क छ । बास्कोटा प्रधानमन्त्री ओलीका सबैभन्दा विश्वासिला पात्र भएकाले बास्कोटाले गरेका हरेक राम्रा नराम्रा कामको अपजस प्रधानभन्त्री ओलीले नै लिनुपर्ने उनको जिकिर थियो ।

फरक प्रसंगमा निधीले मजदुर, किसान लगायत सबै बर्ग तथा समुदायको उत्थान र आर्थिक विकासमा काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको दावी गरे । उनले २००७ सालदेखि आर्थिक समृद्धि र जनताको अधिकारका लागि काम गरिरहेको कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा अगाडि आउने बताए ।

कांग्रेसका क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालिन माओवादी केन्द्रको तर्फबाट धनकौल गाउँपालिकामा अध्यक्षका प्रत्यासी गौरिशंकर साहसहित अन्य विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ । पार्टीमा प्रवेश गरेकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि कांगे्रस उपसभापति निधी र अन्य अतिथिहरुले अविर पहिर्याएर स्वागत गरेका थिए ।

कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय नेता रामहरि खतिवडा, नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महर, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, पार्टीका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्रकुमार राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद जंगीलाल राय, पूर्व जिल्ला सभापति लक्ष्मण राय लगायतले मन्तव्य राखेका थिए ।