राष्ट्रिय परीक्षा बोर्डले गरायो सर्लाहीमा एसईईको स्तरीकृत प्रश्न परीक्षण परीक्षा

215
अर्किड बोर्डीङ स्कूलमा विहिबार परीक्षा दिईरहेका विद्यार्थी । (तस्बिर : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एसईई परीक्षाका लागि नमूना पश्न मार्फत विहिबार परीक्षा लिएको छ ।
सन् २०२१ देखि एसईई परीक्षामा सोधिने प्रश्नपत्रहरुको नमूना लिनका लागि सर्लाही सहित मुलुकका ५० जिल्लाका विभिन्न विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षामा सहभागि गराईएको छ । ‘सन् २०२१ का लागि एसईई परीक्षामा कस्तो खालको प्रश्नपत्र बनाउने भन्ने निक्र्यौल गर्नका लागि अहिले नै विद्यार्थीहरुलाई नमूना परीक्षामा सहभागि गराईएको हो’, परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय जनकपुरकी शाखा अधिकृत आशा कुमारी यादवले भनिन्, ‘सर्लाहीका ४ वटा विद्यालयमा स्तरीकृत प्रश्न परीक्षण परीक्षा गरिएको छ ।’
यादवका अनुसार सर्लाहीका अर्किड बोर्डीङ स्कूल हरिवन, ईश्वरपुर बेला मावि, रामगुलाम जनता मावि भाँडसर, जनता मावि फुलपरासीका १० कक्षाका विद्यार्थीलाई परीक्षा लिईएको हो । अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयको नमूना परीक्षण गरिएको यादवले बताईन् ।
सन् २०२१ पश्चात हरेक विद्यार्थीलाई छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा दिनुपर्ने व्यवस्थाका लागि स्तरीकृत प्रश्न परीक्षण परीक्षा गरिएको छ । परीक्षा बोर्डले एक विद्यार्थीको उत्तर पुस्तिका अर्को विद्यार्थीले हेरेर सार्ने वा चिट चोर्ने परम्परा अन्त्य गर्ने उद्धेश्यले हरेक विद्यार्थीलाई छुट्टाछुट्टै प्रश्नपत्र दिने व्यवस्था ल्याउन लागेको हो ।