‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादव सीआईवीको नियन्त्रणमा

249
पक्राउ परेका रामबाबु राय यादव (तस्बिर : रामबाबु राय यादवको फेसबुक वालबाट)

लालबन्दी – ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादव सर्लाही जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर छुटेपनि पुनः पक्राउ परेका छन् । यादवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) काठमाडौंले सम्पति शुद्धिकरण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाउन पुनः नियन्त्रणमा लिएको हो ।
सीआईवी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सम्पति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धानका क्रममा यादवलाई नियन्त्रणमा लिईएको जानकारी दिए । प्रउ पाण्डेका अनुसार आईतबार विशेष अदालतबाट १० दिन थूनामा राख्ने म्याद लिएर यादव विरुद्ध सम्पति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान अगाडी बढाएको छ । ‘सम्पति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान गर्न यादवलाई नियन्त्रणमा लिएका हौं’, पाण्डेले आईतबार उज्यालो अभियानसँग भने, ‘यादव विरुद्धको अभियोगमा अनुसन्धान गर्न आजै विशेष अदालतबाट १० दिनको म्याद लिईसकेका छौं ।’
जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठगी तथा आपराधिक विश्वासघात अभियोग लगाएर दर्ता गरेको मुद्धामा यादवलाई सोमबार जिल्ला अदालत सर्लाहीले १५ लाख रुपैंया बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला न्यायाधिश हरिप्रसाद कोइरालाको एकल ईजलासले यादवलाई धरौटीमा छाड्न आदेश दिएको हो । तथापी तत्काल धरौटी बुझाउन नसकेका कारण उनलाई सुनसरीको झुम्का कारागारमा राखिएको थियो ।
न्यायाधिश कोइरालाको आदेश अनुसार १५ लाख रुपैंया बराबरको जमिन धरौटी राखेर छुटेका यादवलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पुनः पक्राउ गरी सीआईवीलाई बुझाएको हो । धरौटी बुझाएर छुटेपछि जिल्ला अदालतमा तारेख लिन गएको बेला गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले यादवलाई मलंगवाबाट पुनः पक्राउ गरेको हो । सीआईवीले सम्पति शुद्धिकरण ऐन अन्तर्गत अनुसन्धान गर्नका लागि यादवलाई पक्राउ गरी पठाउन पत्र पठाएकाले उनलाई पुनः नियन्त्रणमा लिएर जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
यादवले ऋण लगानी गर्दा ५ गुणा बढीसम्मको कागज बनाउने गरेको, ऋण तिरीसके पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा राजिनामा गरिदिएको जग्गा आफू खुशी बिक्री गरेको ऋणपीडितहरुले गुनासो गर्दै आएका छन् । पीडितहरुको एक समूह काठमाडौं नै पुगेर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु, गृहमन्त्री, प्रहरीका वरिष्ठ सुरक्षा अधिकृतहरु समक्ष गुनासो गरेपछि केन्द्रकै निर्देशनअनुसार सर्लाही प्रहरीले गत पुस २३ गते यादवलाई पक्राउ गरेको थियो । हरिपुरबाट पक्राउ परेका यादवलाई सूरुमा सुरक्षाकर्मीमाथि दुव्र्यवहार मुद्धामा थूनामा राखेको प्रहरीले पछि ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी अभियोग लगाएर सर्लाही जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
यता पक्राउ परेका यादव एवं उनका परिवारजनले भने कानून विपरित कसैसँग ब्याज नलिएको र लिएको ऋण पचाउनका लागि अनेक आरोप लगाएर जबर्जस्त फसाईएको गुनासो गर्दै आएका छन् । यादवलाई फसाईएको भन्दै विरोध स्वरुप राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले त सदरमुकाम मलंगवा एवं बरहथवामा बजार बन्द सहितको विरोध प्रदर्शन समेत गरिसकेको छ ।
यस्तै पीडितहरुले अर्का ‘मिटरब्याजी’ आरोपी सर्लाहीकै त्रिभुवननगर निवासी सञ्जय साह रौंनियारलाई पनि तुरुन्त पक्राउ गरी कारवाही गर्न माग गरिरहेका छन् । रौंनियार भने भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
यसअघि जिल्लामै अर्का ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार भने यस्तै प्रकृतिको मुद्धामा सर्लाही जिल्ला अदालतको आदेश अनुसार पूर्पक्षका लागि कारागारमा रहेका छन् । सर्लाही जिल्ला अदालतका जिल्ला न्यायाधिश कृष्णराम कोइरालाको एकल ईजलासले कलवारलाई पूर्पक्षका लागि थूनामा पठाउने आदेश दिएको थियो ।
एउटै प्रकृतिको मुद्धामा जिल्ला अदालतका दुई न्यायाधिशबाट छुट्टाछुट्टै आदेश आएको छ । परदेशीले उच्च अदालतमा गरेको पुनरावेदनमा समेत जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ ।