बागमतीको राष्ट्रपति रनिङ शिल्ड उपाधी जनता माविलाई

307
प्रथम उपाधी विजेता विद्यालयका प्रतिनिधिलाई शिल्ड प्रदान गर्दै उपमेयर लिलाकुमारी मोक्तान । (तस्बिर : उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – सर्लाहीको बागमतीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि जनता माध्यामिक विद्यालय सोल्टी राजघाटले हात पारेको छ ।

प्रतियोगितामा ९ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित जनता मावि प्रथम भएको हो । यस्तै ९ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित श्री ५ महेन्द्र जनता मावि कर्मैया द्वितिय स्थान एवं ५ स्वर्ण ४ रजत र ७ कास्य सहित श्री जनवाल कल्याण मावि धरहरा तृतिय पुरस्कार जित्न सफल भएको आयोजक बागमती नगर शिक्षा शाखाले जनाएको छ । यसैगरी प्राथमिक विद्यालय अन्तरगत प्राथमिक विद्यालय बागमती ६ भवानीपुर प्रथम, प्राथमिक विद्यालय बागमती–५ सोल्टी द्वितिय र प्रथमिक विद्यालय बागमती–७ मिथिलापुर तृतिय भएको छ । आईतबार प्रतियोगिताका सम्पुर्ण विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत माध्यामिक विद्यालय स्तरिय मैत्री पुर्ण छात्र र छात्रा फुटबल प्रतियोगिता समेत सम्पन्न भएको आयोजकले जनाएको छ । फुटबलमा छात्रतर्फ जनता मावि मिलन चोक विजयी भएको छ भने छात्रा तर्फ जनता जनवाल कल्याण मावि धरहरा विजयी भएको छ ।

गत माघ २८ गतेबाट सुरु राष्ट्रपति रनिङ शिल्ड तथा नगर खेल सप्ताहको अन्तरगतको प्रतियोगिता आईतबार संम्पन्न भएको हो । प्रतियोगिताको समापन समारोहको प्रमुख अतिथि बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार स्वरुप रनिङ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।

बागमती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा नगरको सामाजिक विकास विभाग प्रमुख तिलक मोक्तानको अध्यक्षतामा सम्पन्न समारोहमा नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, नेपाल शिक्षक महासंघ बागमती नगर कमिटि उपाध्यक्ष कबिराज सुवेदी, जनता माध्यमिक बिद्यालयका बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष कुमार तुमसिङ, शिक्षा समिति प्रतिनिधि ओम बहादुर कार्की, नगर भित्रका विभिन्न विद्यालयका बिद्यालय ब्यवस्थापन समिति सदस्य, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रम संचालक मनोज खनालले जानकारी दिए ।

बागमती नगरपालिका–१० स्थित खेल मैदानमा भएको प्रतियोगितामा नगरपालिका भित्रका प्राथमिक र माध्यामिक गरी २६ वटा बिद्यालयका १४ सय जना छात्र, छात्राले विभिन्न विधामा भाग लिएका थिए । प्रतियोगिता अन्तर गत १०० मिटर, २०० मिटर, ४ सय मिटर, ८ सय, १५ सय र ३ हजार मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सर्टफुट र ज्यबलिङ थ्रो लगाएतका खेल भएका थिए ।