सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जना घाईते

280


सर्लाहीका विभिन्न स्थानमा सुक्रवार राती भएका सवारी दुर्घटनामा परी चार जना घाईते भएका छन् । त्यसमध्ये घाईते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको बरहथवा नगरपालिका–५, चोरनियाँ पुलमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन् । नयाँरोड–बरहथवा सडकमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त ६३७६ नम्वरको ट्याक्टरलाई उछिनेर अगाडि बढ्न खोज्दा ना ५६ प ८८१२ नम्वरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा चालक बरहथवा नगरपालिका–५, का २७ वर्षीय संजय कर्ण घाईते भएका हुन् । कर्णलाई बरहथवामा प्रारम्भिक उपचार गरी भरतपुरतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको धनकौल गाउँपालिका–२, कदम चोकमा हरिवनबाट हथियौलतर्फ गइरहेको ज १ त ११३५ नम्वरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक बलरा नगरपालिका–२, हथियौलका ३० वर्षीय सञ्जय ठाकुर घाईते भएका छन् । उनलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचार गर्न वीरगञ्जतर्फ लगिएको छ ।

यसैगरी गोडैता नगरपालिका–५, रामवनमा सिसौटबाट रामवनतर्फ आउँदै नगरेको नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री त्यही ठाउँका ३५ वर्षीय श्याम कुमार राय र मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–१५, का ५३ वर्षीय गगन देव ठाकुर घाईते भएका छन् ।

दुई घाईतेमध्ये पैदल यात्री श्याम कुमारलाई जिल्ला अस्पतलाबाट वीरगञ्ज रेफर गरिएको छ भने सामान्य घाईते मोटरसाइकल पछाडि सवार गगन देव ठाकुरलाई उपचारपछि प्रहरीको नियन्त्रणमा राखिएको छ । मोटरसाइकलका चालक र मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।