कैलाशपुरीलाई सहयोग गर्ने मन्त्री यादवको प्रतिबद्धता

225
महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादव । (तस्बिर : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले हरिवन नगरपालिका अन्तर्गत चुरे क्षेत्र स्थित ऐतिहाँसिक एवं धार्मिक पर्यटकीय स्थल कैलाशपुरी महादेव मन्दिर क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कैलाशपुरी शिवेश्वर महादेव मन्दिरको मुख्य भवन पुनर्निर्माण गर्नका लागि आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले वनबाटिकामा आयोजित शिवपुराण ज्ञान महायज्ञ उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री यादवले सहयोगको प्रतिबद्धता जनाएका हुन् । ‘यो ऐतिहाँसिक धार्मिक एवं पर्यटकीय स्थल भएकाले यस क्षेत्रको विकास संरक्षण र सम्बद्र्धनमा सबै एकजुट भएर लाग्नु जरुरी छ’, मन्त्री यादवले भने, ‘आयोजक साथिहरुले डिपिआर तयार पार्नुहोला, संघीय सरकार, प्रदेश सरकार लगायतबाट आवश्यक बजेट जुटाउन म पहल गर्नेछु ।’ आफूले जितेकै क्षेत्रभित्र पर्ने भएकाले कैलाशपुरी स्थानको विकासका लागि यथाशक्य सहयोग गर्ने मन्त्री यादवले आश्वासन दिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, नेपाली कांग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडा, नेकपाका नेता ईन्द्र पाठक लगायतले कैलाशपुरी क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने भन्दै आ–आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको विचार व्यक्त गरे । कैलाशपुरी महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष दुर्गानारायण श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रम महायज्ञ आयोजक समितिका फणिन्द्र अधिकारीको सञ्चालनमा भएको थियो । फागुन १० गतेसम्म चल्ने महायज्ञमा प्रथम बालव्यास युवा पण्डित नवराज पोखरेलले कथावाचन गर्नेछन् ।

मन्दिर चुरे पहाडमै रहेकाले महायज्ञ भने तल वनबाटिकामा लगाईएको छ । महायज्ञ उद्घाटन समारोह पश्चात मन्त्री यादव नेतृत्वको टोलीले डाँडामा रहेको मन्दिर स्थलको अवलोकन समेत गरेको छ ।