लालबन्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

298
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख मानबहादुर खड्का । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – सर्लाहीको जुटपानीमा बुधवारबाट लालबन्दी नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको बुधवार जुटपानीस्थित नवजीवन विद्याश्रम माध्यमिक विद्यालयमा राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यता एवं लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हो । शुक्रवारसम्म चल्ने प्रतियोगिता अन्तर्गत विद्यार्थीहरुबीच भलिबल, कबड्डी, जम्प र विभिन्न दुरीका दौड प्रतियोगिता आयोजना गरिने आयोजक लालबन्दी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा लालबन्दी नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका नवजीवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक भलबहादुर अधिकारीले जानकारी दिए ।

यसैबीच लालबन्दी नगरपालिका–६, स्थित खेल मैदानमा वुधवार सम्पन्न प्याब्सन एरिया सीमा आवद्ध विद्यालयहरुबीचको आधारभूत तह स्तरीय फुटबलको उपाधि रकभेल आवासिय विद्यालय लालबन्दीले जितेको छ । एभरेष्ट आवासिय विद्यालयलाई १–० गोलले पराजित गरी रकभेलले उपाधि उचालेको हो । वुधवार नै प्रतियोगिताको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लागीगुराँस आवासिय विद्यालय बयलवासले आइडीएल आवासिय विद्यालय लालबन्दीलाई १–० गोलले नै पराजित गरेको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई प्याब्सनका केन्द्रीय सचिव मदनप्रसाद आचार्य, केन्द्रीय सदस्य गोपाल पंजियार, अर्का केन्द्रीय सदस्य सागर गिरी, जिल्ला एसिए संयोजक निर्मल आचार्य, एरिया सीका संयोजक दिलिप न्यौपाने लगायतको आतिथ्यतामा रनिङ शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको प्याब्सन लालबन्दी नगर समितिका सचिव भरत गौतमले जानकारी दिए ।