सुख्खा मौसममा चुरेका वासिन्दालाई डढेलोको डर

181
सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित चुरेको वन क्षेत्र । (फाईल तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सुख्खा मौसम सुरु भएसँगै सर्लाहीसहित आसपासका जिल्लाको चुरेभेगका नागरिक डढेलोको त्रासमा परेका छन् ।

सुख्खा र हावाहुरीको मौसममा सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको चुरेभेगका जंगलमा भीषण डढेलो लाग्ने गरेको छ । यस्तै पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा पनि बर्सेनी डढेलो लाग्ने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, गुईडुङका वीरबहादुर थिङले घर नजिकैको चुरेका जंगलमा बर्सेनी लाग्ने डढेलोका कारण फागुन र चैत दुई महिना त्रासमा बस्नु परेको गरेका छन् । उनका अनुसार रुख, बिरुवाको पात झरेर सुकेको समयमा जंगल क्षेत्रमा डढेलो लाग्ने गरेको छ । त्यसरी बर्सेनी लाग्ने डढेलोले वन्यजन्तु लोप हुँदै गएका स्थानीय वासिन्दाले बताएका छन् ।

अघिल्ला वर्षमा झैँ यो वर्ष पनि डढेलो लाग्ने समय सुरु भएपनि रोकथामका लागि कुनै निकायबाट पहल नभएको लालबन्दी नगरपालिका–११, सेतीभीरका विजय बम्जनले बताए । डिभिजन वन कार्यालय सर्लाहीले भने जंगल क्षेत्रमा डढेलो लाग्न नदिन स्थानीय वासिन्दा अझ बढी सचेत हुनु पर्ने जनाएको छ ।

सर्लाहीका डिभिजन वन प्रमुख माधवप्रसाद देवले जंगलमा डढेलो लगाउँदा मानव बस्ती समेत जोखिममा पर्ने भएकाले सचेत हुनु पर्ने बताए । उनले वन तथा वन्यजन्तुलाई डढेलोबाट जोगाउन बर्सेनी अग्नी नियन्त्रक खटाएर वन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गर्दै आएको जानकारी दिए ।