मुस्लिम बालबालिकालाई विद्यालय भर्ना गराउने पहल

192
मुस्लिम बालबालिकाका लागि पूर्व तयारी कक्षाको उद्घाटनपछि सामूहिक तस्बिर खिचाइँदै ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका ११, मुस्लिम टोलमा विद्यालय बाहिर रहेका मुस्लिम बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले मंगलवारबाट पूर्व तयारी कक्षा सञ्चालन गरिएको छ ।

चतुर्भूजेश्वर सामुदायिक सिकाई केन्द्र सुखेपोखरीले हरिवन नगरपालिकासँगको समन्वयमा विद्यालय पूर्व तयारी कक्षा सञ्चालन गरेको हो । सो कक्षामा छ महिनासम्म अध्ययन गराएपछि बालबालिकालाई विद्यालय भर्ना गराईने छ । छ महिनाको कक्षापछि बालबालिकालाई मातृ विद्यालयमा भर्ना गराईने सहजकर्ता विणा पौडेलले जानकारी दिईन् । उनका अनुसार विद्यालय पूर्व तयारी कक्षामा मुस्लिम समुदायका सातदेखि १५ वर्ष उमेरसम्मका २५ जना बालबालिका सहभागी भएका छन् । विद्यालय पूर्व तयारी कक्षाको मंगलवार हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

सोही अवसरमा पूर्व तयारी कक्षामा अध्ययन गर्न जम्मा गरिएका बालबालिकालाई शैक्षिक सामग्री र ट्रयाक सुट प्रदान गरिएको छ । चतुर्भूजेश्वर सामुदायिक सिकाई केन्द्र सुखेपोखरीले यसअघि तीन पटक यसैगरी विद्यालय पूर्व तयारी कक्षा सञ्चालन गरी धेरै मुस्लिम बालबालिकालाई विद्यालय भर्ना गराईसकेको छ ।