जनज्योतिमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु

157
अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गरिँदै ।

लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा मंगलवारबाट अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ ।

अतिरिक्त क्रियाकलाप समिति (स्वतन्त्र विद्यार्थी युनियन) को आयोजना तथा क्याम्पस व्यवस्थापन समिति एवं क्याम्पस प्रशासनको समन्वयमा अतिरिक्त क्रियाकलाप आयोजना गरिएको हो । फागुन ५ गतेसम्म चल्ने क्रियाकलाप अन्तर्गत क्याम्पसमै अध्ययरत विद्यार्थीहरुबीच हाजिरिजवाफ, वक्तृत्वकला, भलिबल, फुटबल, टेबलटेनिस, ब्याडमिनटन, दौड, गायन, नृत्य तथा गजल प्रतियोगिता आयोजना गरिएको क्याम्पसले जनाएको छ । बर्सेनी आयोजना हुने अतिरिक्त क्रियाकलापको मंगलवार बिहान अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवं क्याम्पस व्यवस्थापन समितिका सदस्य विभुसिंह थापाको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको अतिरिक्त क्रियाकलाप समितिका सदस्य मनोज बखे्रलले जानकारी दिए । उनका अनुसार अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत मंगलवार पहिलो दिन हाजिरिजवाफको पहिलो चरण सम्पन्न गरिएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, क्याम्पस व्यवस्थापन समितिका सदस्य रामबाबु साह, क्याम्पस प्रमुख प्राध्यापक डा. रेवती प्रसाद न्यौपाने, सहायक क्याम्पस प्रमुख बाबुराम दाहाल, पूर्व क्याम्पस प्रमुखहरु वीरेन्द्र चौधरी, बैकुण्ठ पौडेल र उमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) क्याम्पस समितिका सचिव गान्दिप बरालको सञ्चालन एवं स्ववियू कोषाध्यक्ष अभिमन्यू चौधरीको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।