अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ : शिक्षामन्त्री पोखरेल

183
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेल । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् ।

आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका हुन् । शिक्षामन्त्री पोखरेलले परिवर्तित सन्दर्भमा व्यवहारिक र सीपमूलक शिक्षा जरुरी रहेकोमा जोड दिए । १२ कक्षा पढेको विद्यार्थीलाई कुनै पनि एउटा सीपमा दक्ष बनाउन बाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङ, आयुर्वेद, जडिबुडी जस्ता विषयलाई सरकारले प्राथमिकता दिएको मन्त्री पोखरेलको भनाइ थियो । उनले विद्यालय व्यवस्थापन र सञ्चालनलाई चुस्त बनाउन स्थानीय सरकारले राजनीतिक दल, समाजसेवी र शिक्षा क्षेत्रमा काम गर्नेहरुसंग सहकार्य गर्नु पर्ने बताए ।

कार्यक्रममा सर्लाही–काठमाण्डौं सम्पर्क मञ्चले विद्यालयलाई एक लाख रुपैया नगद, एक थान डेक्सटप कम्प्यूटर, एक थान ल्यापटप, एक थान प्रोजेक्टर, १६० थान विद्यालय झोला, १ हजार आठ थान कापी, आठ सय थान बलपेन र विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ । मञ्चका अध्यक्ष सन्तोष दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, प्रदेशसभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुर लगायतले मन्तव्य राखेका थिए ।