तीन हजारले गराए आँखाको निःशुल्क परीक्षण

274
निःशुल्क आँखा परीक्षण शिविरमा आएका स्थानीय । (तस्बिर : श्रवण/उज्यालो अभियान)

श्रवण थापा/ बागमती – सर्लाहीको बागमती, बरहथवा, बसबरिया र धनकौलमा सञ्चालित बृहत निःशुल्क आँखा परीक्षण शिविरमा तीन हजार जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानले स्थानीय तहहरुसँग समन्वय गरी ती स्थानमा सञ्चालन गरेको शिविरमा ठूलो संख्यामा आँखाका बिरामीले लाभ लिएका हुन् । चार पालिकाका विभिन्न स्वास्थ्य चौकी र विद्यालयमा आँखा परीक्षण गर्दा फेला परेका ४१६ जना मोतिया बिन्दुका बिरामीको बागमती नगरपालिका–८, शंकरपुरस्थित जनजागरण माध्यमिक विद्यालयमा ल्याई निःशुल्क परीक्षण गरिएको बागमती नगरपालिकाको कार्यपालिका सदस्य सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार माघ १८ गतेदेखि सुरु भएको निःशुल्क आँखा परीक्षण तथा मोतिया बिन्दुको शल्यक्रिया शिविरको शनिवार समापन गरिएको हो । शिविरमा बिरामी तथा उनीहरुका कुरुवाका लागि बागमती नगरपालिकाले जाउलो, आनन्द संघ काठमाडौंले फलफूल तथा जुस र कुशवाह समाजले खानाको प्रवन्धक मिलाएका थिए । गाउँमै विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क आँखाको परीक्षण र मोतिया बिन्दुको शल्यक्रिया गराउन पाउँदा आय आर्जन न्यून रहेका परिवारले राहत महसुस गरेका छन् । शिविरको शनिवार बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानको प्रमुख आतिथ्यतामा चिकित्सकलाई बिदाई गरी समापन गरिएको छ ।
निःशुल्क आँखा परीक्षण शिविरमा आएका स्थानीय । (तस्बिर ः श्रवण÷उज्यालो अभियान)