तपस्वी बम्जनलाई खोज्दै सर्लाही प्रहरी, पत्थरकोट आश्रममा भेटिएनन

737

अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्लाही प्रहरीले लिटिल वुद्धका नामले चिनिने तपस्वी रामबहादुर बम्जनको खोजी सुरु गरेको छ ।
बम्जनलाई खोज्दै प्रहरी टोली सुक्रवार दिउँसो जिल्लाको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, पत्थरकोटमा रहेको आश्रममा पुगेको थियो तर उनी त्यहाँ भेटिएनन् । तपस्वी बम्जनमाथि आनी र अनुयायीलाई बेपत्ता पारेको आरोप छ । जिल्ला अदालत सिन्धुलीले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई बिहिवार अनुमति दिएको थियो ।
अदालतबाट अनुमति पाउना साथ जिल्ला प्रहरी कार्यालय मलंगवा र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट बम्जनलाई पक्राउ गर्न प्रहरीको टोली परिचालन भएको बुझिएको छ । सो टोली सुक्रवार दिनभर पत्थरकोट क्षेत्रमै बसेर सुक्रवार साँझ मात्रै फर्किएको थियो ।
केही समयअघि नै बम्जनमाथि आनी र अनुयायीलाई बेपत्ता पारेको आरोप लागेको थियो तर प्रहरीले पहिलो पटक अदालतबाट पक्राउ गर्ने अनुमति पाएपछि उनको खोजी सुरु गरेको हो । आनी एवं अनुयायीहरु बेपत्ता पारेको चर्चा भएपछि जिल्लाका सुरक्षा अधिकारीहरु यसअघि पनि पटक–पटक पत्थरकोटस्थित आश्रममा पुगेर निरीक्षण गर्दा बम्जन भेटिएका थिएनन् ।
सुनसान अवस्थामा रहेको आश्रममा अहिले बम्जनका केही अनुयायी मात्रै भेटिन्छन् । आश्रममा रहेका अनुयायीहरुले बम्जनका बारेमा केही बताउँदैनन् । सुक्रवार नै सिन्धुली प्रहरीले पनि बम्जनको त्यहाँ रहेको आश्रममा खोजतलास गरेको छ । बम्जन फेला नपरेपछि त्यहाँ भने सोधपुछका लागि भन्दै प्रहरीले एक मुख्य सहयोगीलाई नियन्त्रणमा लिएको छ ।