चिनी उद्योग र संघर्ष समितिबीच वार्ता मिलेन

362
गत आईतबार दिउँसो ईन्दुशंकर चिनी उद्योगको प्रशासन अगाडी नाराबाजी सहित धर्नामा बसेकी उपमेयर रेणुका पौडेल एवं बाँया छेउमै रहेका वडाध्यक्ष शेष मेहबुब रेजा र दायाँ रहेका वडाध्यक्ष यज्ञविनोद ढुंगेल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – ईन्दशंकर चिनी उद्योग हरिवनको प्रदुषण नियन्त्रण सम्बन्धमा मंगलबार दिउँसो दुईपक्षबीच भएको वार्ता विना निचोड टुंगिएको छ ।

प्रदुषण नियन्त्रणको माग राखेर स्थानीय बासिन्दाले गठन गरेको संघर्ष समिति र उद्योग सञ्चालक एवं व्यवस्थापन पक्षबीच भएको वार्ता विना निश्कर्ष टुंगिएको हो । दिउँसो झण्डै साँढे दुईघण्टा चलेको वार्तामा उद्योग पक्षले लिखित प्रतिबद्धता नदिएपछि कुनै निश्कर्ष ननिस्किएको संघर्ष समितिका संयोजक सुरेश राज भट्टराईले जानकारी दिए ।

ईन्दुशंकरको प्रदुषणले अत्याधिक पीडा दिएपछि स्थानीयबासीले गत शनिबार दिउँसो संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए । संघर्ष समितिले तीन दिनभित्र धुलो, धुवाँ अनि दुर्गन्ध नियन्त्रण नगरे तालाबन्दी सहित कडा आन्दोलनमा उत्रने चेतावनी सहित गत आईतबार ईन्दुशंकर चिनी उद्योग व्यवस्थापन समक्ष ज्ञापन पत्र बुझाएको थियो भने हरिवन नगरपालिका कार्यालय र ईलाका प्रशासन कार्यालय हरिवनमा ज्ञापनको बोधार्थ दिएको थियो ।

संघर्ष समितिका संयोजक भट्टराईले ईन्दुशंकरले धुलो धुँवा तत्काल नियन्त्रण गर्न नसकिने हुँदा एक वर्ष पर्खिन आग्रह गरेको र आफूहरुले उक्त समयावधी मानेपनि लिखित प्रतिबद्धता माग्दा नदिएको बताए । ‘वार्ताका क्रममा उद्योग व्यवस्थापनले प्रदुषण नियन्त्रण गर्न एकवर्ष लाग्छ भन्यो, हाँमीले पनि हुन्छ एकवर्ष कुर्छौं तर एकवर्ष भित्र नियन्त्रण गर्न नसके उद्योग नै बन्द गर्नुपर्छ भन्ने लिखित प्रतिबद्धता माग्यौं’, संयोजक भट्टराईले भने, ‘तर एकवर्षे अवधी दिँदा पनि उद्योग व्यवस्थापनले लिखित प्रतिबद्धता दिन सकिदैन भनेपछि वार्ता विना निश्कर्ष टुंगियो ।’

मंगलबारको वार्ता विना निश्कर्ष टुंगिएकाले बुधबारबाट चरणवद्ध आन्दोलमा उत्रिने संयोजक भट्टराईले बताए । बुधबारबाट उद्योगको मूलगेटमा तालाबन्दी सहित आन्दोलनका कार्यक्रम अगाडी बढाईने भट्टराईको भनाई छ । ‘हाँमी भोलीबाट चरणबद्ध आन्दोलनमा उत्रन्छौं’, भट्टराईले मंगलबार साँझ उज्यालो अभियानसँग भने, ‘बुधबार दिउँसो उद्योगको दुईवटा गेटमा दुईघण्टा तालाबन्दी गर्नेछौं र हरेक दिन क्रमशः तालाबन्दीको समय बढाउँदै लानेछौं ।’

वार्तामा सहभागि हरिवन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेलले ईन्दुशंकर चिनी उद्योगले लिखित प्रतिबद्धता नजनाएका कारण वार्ता विना निश्कर्ष टुंगिएको जानकारी दिए । वार्तामा संघर्ष समितिका पदाधिकारी एवं वडाध्यक्ष ढुंगेलसँगै वडा नं. ६ का वडाध्यक्ष प्रल्लाद बुढाथोकी, वडा नं. ११ का वडाध्यक्ष शेख मेहबुब रेजा लगायतको उपस्थिती रहेको थियो । उद्योगको तर्फबाट भने उद्योगपति राजेश केडियाका छोरा शुभम केडिया, प्रशासकीय अधिकृत ठाकुर नेपाल सहित व्यवस्थापन पक्ष सम्बद्ध कर्मचारीहरु सहभागि थिए ।

उद्योगका प्रशासकीय अधिकृत नेपाल भने वार्ता सकारात्मक भएको दाबी गर्छन् । ‘आजको वार्ता अत्यन्त सकारात्मक ढंगले अगाडी बढ्यो, हाँमीले प्रदुषण नियन्त्रणका लागि गरिरहेको प्रयास बारेमा वार्तामा सहभागिहरुलाई विस्तृतमा जानकारी गरायौं’, नेपालले उज्यालो अभियानसँग भने, ‘लिखित प्रतिबद्धताको बारेमा केही शब्दहरु लेख्ने विषयमा भने हाँमी अलि गम्भिर भएका छौं, त्यस विषयमा पनि हाँमी भित्र गम्भिर ढंगले छलफल भईरहेको छ ।’ स्थानीयले व्यवस्थापनसँग मात्रै कुरा गर्दैनौं भन्ने माग राखेकाले यसपटक उद्योगका मालिक राजेश केडियासँगै कुरा गराउने प्रयास गरिएको र केडिया बिरामी भएकाले अनुपस्थित हुने भएपछि सञ्चालक केडियाका छोरा शुभम केडिया स्वयं नै वार्तामा सहभागि भएको नेपालको कथन छ ।

हनुमानचोक, बाँसाटोल, पाख्रीन टोल लगायत उद्योग वरिपरीका बासिन्दा धुलो धुवाँ र दुर्गन्धबाट वर्षौंदेखि पीडित बनिरहेको संघर्ष समितिका संयोजक भट्टराईले गुनासो गरे । उद्योग व्यवस्थापनलाई वर्षौंदेखि पटक–पटक ज्ञापन बुझाउने अनि वार्ता मार्फत सहमति गर्ने बाहेक केही उपलब्धी हाँसिल नभएको र यसपटक भने उधारो सहमति भन्दा पनि ठोस उपलब्धी हाँसिल नभएसम्म संघर्ष जारी रहने उनको भनाई थियो ।

स्थानीय बासिन्दाका अनुसार चिनी उद्योगको चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुने गरेको छ । त्यस्तै घरभरी कालो धुलो पस्ने गरेकाले घरभित्रै बसेर खाना खाँदा समेत भागभरी कालो धुलो छपक्कै हुने गरेको संघर्ष समितिका प्रचार प्रसार संयोजक विनय न्यौपानेले गुनासो गरे ।

धुलो, धुवाँको प्रदुषण अनि चिनी उद्योग अन्तर्गतकै अमरावती डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानीको दुर्गन्धले स्थानीयमा स्वाशप्रस्वाश लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको समितिका संयोजक भट्टराईको दाबी छ ।