सर्लाहीमा गोलभेँडा उत्पादन बढ्यो

1436
अन्यत्र निकासीका लागि लालबन्दी बजारमा क्रेटमा गोलभेँडा हालिँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीका बजारमा प्रशस्त मात्रामा स्थानीय जातको गोलभेँडा भित्रिन थालेको छ । पुसदेखि निरन्तर शीतलहर चलेर हुस्सु लाग्दा गोलभेँडा उत्पादनमा गिरावट आएको थियो ।
तर केही दिनदेखि भने मौसम सफा भएर घाम लाग्न थालेपछि पाकेका गोलभेँडा बजार भित्रिन थालेको हो । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान भेषकुमार लामाले गोलभेँडा धमाधम पाक्न थालेपछि बिक्री गर्न भ्याईनभ्याई परेको जानकारी दिए । सर्लाहीका बजारमा गोलभेँडा अहिले प्रतिक्रेट चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
व्यावसायिक रुपमा गोलभेँडा खेती हुने जिल्लाको हीरापुर, पत्थरकोट, चन्द्रपुर, नवलपुर, सासापुर, अत्रौली लगायतका क्षेत्रबाट दैनिक ठूलो परिमाणमा गोलभेँडा भित्रिन थालेको व्यापारीले बताएका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग आसपास र उत्तरी चुरेभेगका किसानले उत्पादन गरेको गोलभेँडा लालबन्दी, नवलपुर र हरिवन बजारबाट देशका प्रमुख शहरहरुमा निर्यात भइरहेको छ ।
बजारमा अहिले भारतीय गोलभेँडाको तुलनामा स्थानीय जातको गोलभेँडा बढी भित्रिरहेको लालबन्दी बजारका थोक व्यापारी नवलकिशोर यादवले दिए । बेला–बेलामा ठूलो परिमाणमा भारतीय गोलभेँडा भित्रिँदा भने स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले राम्रो मूल्य पाउन सकेको छैन् । किसानले अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष गोलभेँडा बिक्री नभएर खेतमै कुहिने अवस्था भने नरहेको बताएका छन् ।