नारायणखोलामा १४ जना बालिकाको शिक्षा बीमा

127
घरमै पुगेर छोरी शिक्षा बीमा गराउँदै लालबन्दी नगरपालिकाको टोली । (तस्बिर : उज्यालो अभियान)

नारायणखोला – सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा १४ जना बालिकाको शिक्षा बीमा गरिएको छ ।

साबिक नारायणखोला गाविसको केन्द्र मोटरदोभानमा गत शनिवार सञ्चालन गरिएको निःशुल्क शिविरमा त्यहाँका १४ जना बालिकाको शिक्षा बीमा गरिएको वडाध्यक्ष सुवाईसिंह ब्लोनले जानकारी दिए । वडा अध्यक्ष ब्लोन, वडा सचिव रामहरि कार्की लगायतका कर्मचारीले गाउँमै पुगेर गत वर्षको माघ १ गतेपछि जन्मिएका बालिकाहरुको शिक्षा बीमा गर्नुभएको हो । शिविरमा बालिकाहरुको शिक्षा बीमा सँगै मुद्धती खाता समेत खोलेर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले बताए ।

यस्तै शिविर सञ्चालन गर्न जाँदा नारायणखोलाका संगीता माया थिङलाई प्रसुति सेवा समेत प्रदान गरिएको छ । घरमै सुत्केरी भएकी थिङ सालनाल अड्किएर प्रशव बेथामा रहेका बेला स्वास्थ्यकर्मीको टोलीले घरमै गएर प्रसुति सेवा प्रदान गरेको हो । वडा नम्वर १४ बाहेक लालबन्दीका अन्य वडाका लागि यसअघि माघ ११ र १२ गते सञ्चालन गरिएको शिविरमा २४४ जना बालिकाको शिक्षा बीमा गरिएको थियो ।