चुरे क्षेत्रमा खोला खन्दै गरेका दुई स्काभेटर नियन्त्रण

262
लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित चुरेको खहरे खोलामा ढुंगा टिप्न पुगेका ट्याक्टर । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – चुरे क्षेत्र स्थित पटौंना खोलामा उत्खनन् गरिरहेको अवस्थामा दुईवटा स्काभेटर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला स्तरीय अनुगमन समितिको टोलीले अहिले भर्खर (मंगलबार दिउँसो) पटौंना खोलामा खनिरहेको अवस्थामा दुईवटा स्काभेटर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनुगमनका क्रममा खोला खनिरहेको अवस्थामा हरिवन नगरपालिका–१ स्थित पटौंना खोलामा फेला परेका दुईवटा स्काभेटर एवं दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर हरिवन नगरपालिका कार्यालयलाई बुझाईएको जानकारी दिए ।

‘जिल्ला स्तरीय अनुगमन टोलीले चुरे क्षेत्रमा खोला खनिरहेको अवस्थामा ती उपकरणहरु नियन्त्रणमा लिएको हो’, प्रजिअ जिसीले भने, ‘नियन्त्रणमा लिईएका उपकरणहरु हरिवन नगरपालिका कार्यालयलाई बुझाईदिएका छौं, अब आवश्यक छानविन गरेर कारबाही गर्ने काम नगरपालिकाकै हो ।’

जिल्ला स्तरीय अनुगमन समितिका संयोजक रहेका जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी तथा सदस्यहरु प्रजिअ जिसी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप कुमार सिंह, सशस्त्र प्रहरीका नायव उपरीक्षक दामोदर ढोडारी लगायतको टोलीले उक्त उपकरणहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका सवारी साधन घटनास्थलबाट ल्याउने काम भईरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।