सशस्त्र प्रहरी प्रदेश फूटबलको फाइनलमा

107

बयलवास – सशस्त्र प्रहरीको नम्वर २ छिन्नमस्ता बाहिनी बर्दिवास, सर्लाहीको बयलवासमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको आइतवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा पर्सालाई १–० गोलले पराजित गर्दै सशस्त्र प्रहरीको छिन्नमस्ता टिम उपाधि नजिक पुगेको हो । सशस्त्रले अब उपाधिका लागि मंगलवार आयोजक फुलजोर युवा क्लब बयलवासको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने छ । फुलजोर शनिवार पहिलो सेमीफाइनल खेलमा बारालाई ३–० गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।

नारायण जनता माध्यमिक विद्यालय बयलवासको प्राङ्गणमा आयोजित प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमश : एक लाख र ५० हजार रुपियाँ प्राप्त गर्ने छन् । मंगलवार बिहान ११ बजेपछि प्रतियोगिताको समापन समारोह र दिउँसो १ बजेपछि फाइनल खेल सुरु हुने आयोजक समितिका सदस्य समिर केसीले जानकारी दिए ।