एम्बुलेन्स चलाउन ज्ञान महायज्ञ आयोजना

164
महायज्ञको उद्घाटन गर्दै सांसद प्रमोद साह । (तस्बिर : उज्यालो अभियान)

कालिञ्जोर (घारिबथान) – सर्लाहीको विकट मानिने उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा एम्बुलेन्स खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको छ ।

घारिबथानमा बिरामीलाई उपचारका लागि बजार क्षेत्रका अस्पतालसम्म ल्याउन समस्या भएपछि गाउँलेहरु एकजुट भई श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेका हुन् । कालिन्जोर घारिबथानस्थित भिमेश्वर महादेव मन्दिर पिपल चौतारा परिसरमा आयोजित महायज्ञको आइतवार दिउँसो सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रमोद साहले उद्घाटन गरे । सांसद साहले आफ्नो व्यक्तिगत तर्फबाट एम्बुलेन्स खरिद गर्न ५० हजार ५०१ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै महायज्ञ उद्घाटनकै अवसरमा लालबन्दी नगरपालिका–९, का सीताराम आचार्यले पनि २५ हजार ५२५ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका महायज्ञ आयोजक समितिका अध्यक्ष दिनेश बुढाथोकीले जानकारी दिए ।

माघ २७ गतेसम्म सञ्चालन हुने महायज्ञमा युवा पण्डित सन्तोष प्रसाद चालिसेले कथावाचन गर्नेछन् । महायज्ञबाट एम्बुलेन्स खरिद गर्न पुग्ने रकम संकलन हुने अपेक्षा गरिएको ईश्वरपुर नगरपालिका–१२ का वडा सदस्य कैलाश कार्कीले बताए । शिक्षक भीम खड्काले सञ्चालन गरेका महायज्ञ उद्घाटन कार्यक्रममा स्थानीय अगुवा हरि लुङ्गेलीले स्वागत मन्तव्य राखे । महायज्ञ उद्घाटन समारोहमा घारिबथान निवासी नेपाली कांगे्रसका क्षेत्रीय सभापति प्रमोद बराल, वडाध्यक्ष नागेन्द्र पाख्रिन, अन्य जनप्रतिनिधि, गाउँका अगुवा, पार्टी प्रतिनिधि र स्थानीय वासिन्दाको उपस्थिति थियो । उद्घाटन समारोह अघि भव्य रुपमा कलश यात्रा निकालिएको थियो ।

पूर्व–पश्चिम राजमार्गस्थित फुलजोर चोकबाट आठ किलोमिटर उत्तर घना जङ्गल छिचोलेर पुगिने घारिबथानमा अहिले कोही मानिस आकस्मिक बिरामी परे बस, टेम्पु लगायतका सार्वजनिक सवारीमा राखेर अस्पताल ल्याउनुपर्ने बाध्यता छ । भनेको समयमा ती सवारी पनि नपाउँदा स्थानीय समस्यामा पर्ने गरेका छन् । घारिबथानबाट केही महिनाअघि सार्वजनिक बसमा हालेर सर्पदंशका बिरामी लिएर आउँदै गरेको पूर्व–पश्चिम राजमार्गस्थित फूलजोरमा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको थियो । यस्तै एम्बुलेन्सको अभाव र गाउँमा बेलैमा अरु गाडी नपाउँदा त्यहाँ बर्सेनी जसो सर्पदंशका बिरामीले ज्यान गुमाउने गरेका छन् ।