ईन्दुशंकर चिनी उद्योगमा उपमेयर र वडाध्यक्षको धर्ना

237
गत आईतबार दिउँसो ईन्दुशंकर चिनी उद्योगको प्रशासन अगाडी नाराबाजी सहित धर्नामा बसेकी उपमेयर रेणुका पौडेल एवं बाँया छेउमै रहेका वडाध्यक्ष शेष मेहबुब रेजा र दायाँ रहेका वडाध्यक्ष यज्ञविनोद ढुंगेल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – उद्योगले फाल्ने धुलो र धुवाँ नियन्त्रणको माग राख्दै हरिवन नगरपालिकाकी उपमेयर, वडाध्यक्ष सहित स्थानीय बासिन्दाले ईन्दुशंकर चिनी उद्योग हरिवनको व्यवस्थापनलाई तीनदिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् ।

उद्योगको प्रदुषण विरुद्ध आईतबार स्थानीय बासिन्दाले हरिवन बजारमा निकालेको जुलुसमा सहभागि हुँदै उपमेयर रेणुका पौडेल, हरिवन–११ का वडाध्यक्ष शेष मेहबुब रेजा, हरिवन–८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, वडा सदस्य सुकदेव कार्की समेत ईन्दुशंकरमा ज्ञापन पत्र बुझाउन गएका थिए । खाना खाने समय भएका कारण कर्मचारी कोही नहुँदा उपमेयर पौडेल सहित स्थानीयको जुलुस झण्डै एक घण्टा उद्योग प्रशासन अगाडी नाराजुलुस सहित धर्नामा बसेको थियो ।

पटक–पटक आग्रह गर्दा पनि ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । उद्योगलाई दवाव दिने उद्धेश्यले शनिबार दिउँसो स्थानीयबासीले समाजसेवी सुरेश राज भट्टराईको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति नै गठन गरेका थिए ।

संघर्ष समितिको आयोजनामा आईतबार दिउँसो स्थानीयले विभिन्न नाराबाजी सहित हरिवन बजार परिक्रमा गरे भने हरिवन नगरपालिका कार्यालय, ईलाका प्रशासन कार्यालय हरिवनलाई समेत उद्योगलाई बुझाउने ज्ञापनको बोधार्थ दिए । संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा धुलो धुवाँ सहितको प्रदुषण नियन्त्रण गर्न तीन दिने अल्टिेमेटम दिईएको छ । तीन दिनभित्र चिनी उद्योगबाट अनियन्त्रित रुपमा निस्कने धुलो धुँवा एवं छेउमै रहेको अमरावती डिष्टिलरीको गन्हाउने पानी नियन्त्रण नगरीए चरणबद्ध रुपमा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिईएको छ ।

उपमेयर पौडेलले ईन्दुशंकरले प्रदुषण नियन्त्रणमा वेवास्ता गरेको आरोप लगाईन् । ‘प्रदुषण नियन्त्रणका लागि नगरपालिकाको तर्पmबाट उद्योगलाई यसअघि पनि पटक–पटक ताकेता गरिएको छ’, उपमेयर पौडेलले भनिन्, ‘आईतबार स्थानीयले ज्ञापन पत्रको बोधार्थ नै बुझाएपछि स्थानीयबासीको जुलुससँगै म आफै उद्योग सम्म पुगेर पुनः ध्यानाकर्षण गराएको छु ।’ चिनी उद्योगको धुलो र धुँवा अनि डिष्टिलरीको दुर्गन्धबाट वर्षौंदेखि स्थानीय बासिन्दा आजित भएको उल्लेख गर्दै उपमेयर पौडेलले स्थानीयबासीले दिएको तीनदिने अल्टिमेटम भित्र उद्योगले समस्या समाधानमा कुनै पहल नगरे नगरपालिकाको तर्फबाट कारबाही प्रकृया अगाडी बढाउने चेतावनी दिईन् ।

संघर्ष समितिका प्रचार प्रसार संयोजक विनय न्यौपानेका अनुसार चिनीमेल वरिपरी हनुमानचोक, बाँसाटोल, पाख्रीन टोल लगायतका बासिन्दा प्रदुषणबाट बढी पीडित हुँदै आएका छन् । न्यौपानेका अनुसार चिनी उद्योग चलेको समयमा चिम्नीबाट उड्ने धुलोले स्थानीयलाई आजित बनाउने गरेको छ ।

धुलो धुँवा नियन्त्रणका लागि पटक–पटक ज्ञापन पत्र बुझाएपनि चिनी उद्योग व्यवस्थापनले कुनै सुनुवाई नगरेको संघर्ष समितिका संयोजक भट्टराईले गुनासो गरे । ‘चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुन्छ अनि घरभरी कालो धुलाले छपक्कै बनाउने हुँदा घरभित्रै बसेर खाना खाँदा समेत भागभरी कालो धुलोले छपक्कै पार्ने गरेको छ’, संयोजक भट्टराईको गुनासो थियो, ‘अनि डिष्टिलरीबाट निस्कने फोहोर पानी तथा चिनी उद्योगले बनाउन मल प्लाण्टमा कुहाउने फोहोरको दुर्गन्धले २४सै घण्टा बसीनसक्नु हुन्छ ।’ उद्योगको धुलो धुवाँले स्थानीयमा श्वासप्रश्वासको निकै समस्या देखिएको भट्टराईको दाबी छ ।

ईन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले आईतबार स्थानीय बासिन्दाको तर्फबाट प्रदुषण नियन्त्रणका लागि भन्दै ध्यानाकर्षण सहित ज्ञापन पत्र आएको जानकारी दिए । ‘स्थानीयको समस्या प्रति हाँमी गम्भिर छौं’, उनले भने, ‘समस्या समाधानका लागि व्यवस्थापनका सबै पक्ष सक्दो प्रयासरत छौं ।’