हरिवन माविका विद्यार्थीले च्याउ फलाए

आफूले फलाएको च्याउ टिप्दै विद्यार्थी । (तस्बिर : उज्यालो अभियान)
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं लगायत विद्यार्थीले गरेको च्याउ खेती निरीक्षण गर्दै । (तस्बिर : उज्यालो अभियान)
विद्यार्थीले उत्पादन गरेको च्याउ विद्यालययको मूलगेट स्थित काउण्टरबाट विक्री गरिदैं । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका स्थित महादेव जनता नमूना माविका विद्यार्थीले तरकारी खाने च्याउ उत्पादन गरेका छन् ।

विद्यालयमा कक्षा ९ मा बाली विज्ञान विषय पढ्ने विद्यार्थीहरुले कन्ने जातको च्याउ फलाएका हुन् । विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत च्याउ उत्पादन गरेको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए ।

चालू शैक्षिक शत्रबाट सूरु भएको बाली विज्ञान विषय पढ्ने कक्षा नौं का ४० जना विद्यार्थीहरुले हाल विद्यालयमा प्रयोगात्मक कक्षा अन्तर्गत च्याउ तथा फूलकोबीको खेती सुरु गरेका छन् । विद्यार्थीहरुले च्याउ भने उत्पादन नै गरिसकेका छन् भने फूलकोबीको फल लाग्न सूरु भएको छ ।

विद्यार्थीहरुले अत्यन्त चाख लिएर च्याउ लगायत तरकारी खेतीमा सहभागिता जनाएको बाली विज्ञानकी प्रशिक्षक नविना गहतराजले जानकारी दिईन् । प्रशिक्षक गहतराजका अनुसार महिना दिनअघि सूरु गरिएको च्याउ खेतीले अहिले उत्पादन नै दिईसकेको छ । ‘सिक्ने क्रममै विद्यार्थीहरुले गरेको मेहनतका कारण च्याउको अत्यन्त राम्रो उत्पादन भएको छ’, गहतराजले भनिन्, ‘विद्यार्थीहरुले उत्पादन गरेको च्याउ कुनै व्यवसायिक कृषकको भन्दा कम छैन ।’

विद्यालयका शिक्षक राजन कार्कीका अनुसार विद्यार्थीद्वारा उत्पादित च्याउ विद्यालयकै काउण्टरबाट प्रति केजी १५० रुपैंयामा धमाधम बिक्री भईरहेको र स्थानीयले अत्यन्त उत्साहका साथ खरिद गरिरहेका छन् । विद्यार्थीहरुले सूरु गरेको च्याउ खेती अन्तर्गत एकलट उत्पादन भएर बिक्री समेत गरिसकिएको र क्रमशः उत्पादन भईरहेको बाली विज्ञान विषयकी सहायक प्रशिक्षक बसन्ती पाण्डेले जानकारी दिईन् ।

उक्त विषय अध्ययनरत रिसिका कार्कीले प्रयोगात्मक कक्षाले आफूहरुलाई निकै उत्साह बढेको बताईन् । किताबमा मात्रै पढेर भन्दा पनि प्रयोग नै गर्न पाईने भएकाले हाल आफूहरुलाई बाली विज्ञान विषयले अत्यन्त फाईदा पुगेको कार्कीको भनाई छ ।

‘किताब पढ्ने भन्दापनि व्यवहारमै सिक्न पाईएको छ’, कार्कीले भनिन्, ‘शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक ज्ञान पाईएकाले काम नै नपाउने भन्ने डर छैन ।’ उनले कतै काम नै नपाईए पनि घरमै तरकारी खेती गरेर केही गर्ने आँट बढेको बताईन् ।

कार्कीकी सहपाठी अस्मिता स्याङ्तान पनि प्रयोगात्मक पढाईले आफूहरुलाई ठूलो टेवा पुगेको बताउँछिन् । ‘अब त शैक्षिक योग्यता भएर पनि काम पाईदैन भन्ने डर भएन’, स्याङ्तानले भनिन्, ‘अन्त कतै काम पाईएन भने घरमै तरकारी खेती गरेर आम्दानी गर्न सक्छु भन्ने होप बढेको छ ।’ विषयको प्रयोगात्मक पढाई अन्तर्गत निकट भविष्यमै काँक्रो लगायत अन्य विभिन्न जातका बेमौसमी तरकारी खेती सूरु गरिने बाली विज्ञानकी प्रशिक्षक गहतराजले जानकारी बताईन् ।

विद्यालयले चालू शैक्षिक शत्रबाट बालि विज्ञान विषय थप गरेर विद्यार्थीहरुलाई प्रयोगात्मक सहित व्यवहारिक शिक्षा दिन सूरु गरेको प्रधानाध्यापक जयशंकर सिंहले बताए । शिक्षा विभागबाट पाएको २६ लाख रुपैंया अनुदानबाट बाली विज्ञान पढाउन सूरु गरिएको सिंहले प्रश्ट्याए । प्रअ सिंहका अनुसार २६ लाख अनुदान रकम मध्ये १६ लाखको प्रयोगात्मक सामग्री खरिद तथा १० लाख रुपैंयाले ल्याब निर्माणको काम सूरु भईरहेको छ ।