हरिवनमा २३७ छोरीको शिक्षा बीमा

807
छोरीको शिक्षा बीमा गराउन हरिवन नगरपालिका कार्यालय परिसरमा शनिबार दिउँसो बालिका सहित जम्मा भएका स्थानीय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले शुक्रबारबाट सूरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रममा २३७ जना बालिकाको बीमा भएको छ ।

शनिबार वडा नं. १, २, ३, ४, ८ र ९ का १२१ जना बालिकाहरुको बीमा गरिएको छ । शुक्रबार वडा नं. ५, ६, ७, १० र ११ निवासी ११६ जना बालिकाको बीमा गरिएको थियो । शुक्रबार र शनिबार दुई दिनसम्म दिनभर नगरपालिका कार्यालय परिसरमा शिक्षा बीमा गराउन आएका अभिभावक एवं बालिकाहरुको भिड थियो ।

२०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरुको शिक्षा बीमा गरिएको हो । बीमाकै अवसरमा बालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको नगरपालिका कार्यालयले जनाएको छ । बीमासँगै उनीहरुको मुद्दती खाता खोली घरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन टोकन समेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

कार्यक्रम सूरुवातको अवसरमा दुई दिनसम्म शिविर नै राखेर बीमा कार्यक्रम गरिएको र उक्त कार्यक्रम वर्षै भरी निरन्तर चलिरहने ढकालले बताए । नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले छोरी शिक्षा बीमा कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै आगामी वर्षबाट नगरपालिकाले पनि रकम थप गर्ने प्रतिबद्धता जनाएका छन् ।

२० स्थानीय तह रहेको सर्लाहीमा हालसम्म हरिवनसँगै लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकाले यो कार्यक्रम लागू गरेका छन् । प्रभु बैंकसँगको सहकार्यमा प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत शिक्षा बीमा सूरु गरेको हो । प्रभु बैंकले एक हजार रुपैंया राखेर खोलिदिने बालिकाको खातामा प्रदेश सरकारले १३ हजार रुपैंया जम्मा गरिदिने र २० वर्षपछि उक्त खातामा एकलाख २० हजार रुपैंया पुग्ने गरी प्रदेश सरकारले यो अभियान ल्याएको हो ।

शुक्रबार नै प्रदेश सरकारका मुख्य मन्त्री लालबाबु राउतले बीमा कार्यक्रमलाई तीन गुणा बढीले थप गरेको घोषणा गरेका छन् । जसअनुसार अब बालिकाको खातामा प्रदेश सरकारको तर्फबाट तीनगुणा बढी रकम जम्मा गर्ने प्रतिबद्धता जनाईएको छ । अभिभावकले उक्त रकम निकाल्न बीमा गरिएकी छोरीले मावि तहको अध्ययन पूरा गरेको हुनुपर्नेछ ।