दुईजनाकाे मृत्यु हुनेगरि ठक्कर दिएर फरार ट्रक समातियाे

मलंगवा – मोटरसाईकललाई ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले आईतबार साँझ गोडैताबाट बरामद् गरेको छ ।

ठूलो मेहनतका साथ गोडैता नगरपालिका–११, बाहुनटोलाबाट दुईजनाको मृत्यु हुनेगरी ठक्कर दिने ट्रक ना. ३ ख ५३९० नम्बरकाे ट्रक बरामद् गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । ‘गिदी लगायत मासुका चोक्टाहरु लत्पतिएको सिसाका टुक्राहरु समेत छरपष्ट भएको अवस्थामा ट्रक बरामद् गरिएको छ’, आईतबार साँझ पोखरेलले उज्यालो अभियानसँग भने, ‘मूल सडकबाट भित्र छिराएर अगाडीको भाग भित्रपट्टि तथा पछाडीको भाग मात्र देखिने गरी लुकाईएको रहेछ ।’ चालक फरार रहेको र ट्रकधनी पत्ता लगाउने लगायत अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रउ पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र स्थित गोडैता नगरपालिका–७, मोहन चोकमा उक्त ट्रकले शनिबार राती ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको थियाे । बरहथवाको हिरापुरबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बीआर ३० एच ६७९८ नम्वरको मोटरसाइकललाई उक्त ट्रकले ठककर दिँदा मलंगवा नगरपालिका–२ निवासी २० वर्षीय उपेन्द्र सोनार र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको हो । मोटरसाईकल चालक सोनारको घटनास्थलमै तथा यादवको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार गर्दागर्दै आईतबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

त्यस्तै जिल्लाको उत्तरी चुरे क्षेत्र स्थित लालबन्दी नगरपालिका–१६ परवानीपुरमा शनिवार साँझ मोटरसाइकलको ठक्करबाट स्थानीय एक वृद्धाको मृत्यु भएको छ । रानीगञ्जबाट परवानीपुरतर्फ गइरहेको ना. १९ प २१६० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।