सर्लाहीका क्रसर उद्योगको अनुगमन, मापदण्ड नपुगेका उद्योग बन्द गराईने

922
शुक्रबार क्रसर उद्योगको अनुगमन गर्न हिँडेको जिल्ला स्तरीय टोली । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा हाल सञ्चालनमा रहेका क्रसर उद्योगहरुको शुक्रवार जिल्ला स्तरीय टोलीद्धारा अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतको टोलीले शुक्रवार बिहानदेखि साँझ अबेरसम्म लगाएर जिल्लाका क्रसर उद्योगहरुको अनुगमन गरेको हो । सर्लाहीमा हाल चालू अवस्थाका ९ वटा क्रसर उद्योग छन् । जिल्लामा सबै भन्दा धेरै बागमती नगरपालिकास्थित राजमार्ग भन्दा दक्षिण चार वटा क्रसर उद्योग सञ्चालनमा छन् । यस्तै फूल्जोर, रानीगञ्ज, श्रीनगर, हरिपुर र धनकौल पश्चिममा एक–एक वटा क्रसर उद्योग सञ्चालनमा रहेका जिल्ला समन्वय समितिका प्रमुख चौधरीले बताए । उनले जिल्लामा थप क्रसर उद्योगहरु दर्ता भएपनि चालू अवस्थाका उद्योगको मात्रै अनुगमन गरिएको बताएका छन् ।

क्रसर उद्योग मापदण्ड अनुसार सञ्चालन भए/नभएको सम्वन्धमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले उज्यालो अभियानलाई जानकारी दिए । ‘क्रसर सञ्चालन ऐन २०७५ अनुसार उद्योग सञ्चालन भएका छन् वा छैनन् भन्ने सम्वन्धमा अनुगमन गरेका हौँ’, प्रजिअ जिसीले भने, ‘नियम अनुसार मापदण्ड नपुगेका उद्योग बन्द गछौँ ।’

अनुगमन पश्चात यदी मापदण्ड अनुसार सञ्चालन नभएको पाइएमा त्यस्ता उद्योगलाई बन्द गरिने स्थानीय प्रशासनले जनाएको हो । धनुषामा अवैध क्रसर उद्योगको विरोध गर्दा एक युवकको हत्या गरिएपछि प्रदेश सरकारले अहिले प्रदेश भित्रका क्रसर उद्योगमाथि निगरानी बढाएको छ ।

सर्लाहीमा लामो समयपछि क्रसर उद्योगहरु कानुन संगत सञ्चालन भए÷नभएको सम्वन्धमा अनुगमन भएको हो । सर्लाहीमा सञ्चालित क्रसर उद्योग पनि मापदण्ड मिचेर नदी तथा सडकको नजिकै सञ्चालन गरिएको, उद्योगका सवारीले जथाभावी उत्खनन गरेको जस्त गुनासो आउने गरेको छ । शुक्रवार अनुगमनमा जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीले यदी गुनासो अनुसार मापदण्ड मिचेको पाइए कारवाही स्वरुप उद्योग नै बन्द गराईने बताएका छन् । जिल्लामा २० वटा क्रसर उद्योग दर्ता भएपनि सबै सञ्चालनमा नरहेको घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका जीतेन्द्र गुप्ताले जानकारी दिए ।