पत्थरकोटको नारायण जनता माविमा शुद्ध खानेपानी

660
शुद्ध खानेपानीका लागि जडान गरिएको फिल्टर सहितको ट्यांकी ।

पत्थरकोट – सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, पत्थरकोट जियाजोरस्थित नारायण जनता माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ ।

ट्रान्सफर्म नेपाल नामक संस्थाले विद्यालयमा करिव ८ लाखको लागतमा हजार–हजार लिटरको दुई वटा ट्यांकी निर्माण गरी फिल्टरमार्फत शुद्ध खानेपानी उपलब्ध गराएको हो । सोही संस्थाले विद्यालयमा १८ वटा खानेपानी धारा समेत जडान गरिदिएको छ । खानेपानी आयोजनाको शुक्रवार विद्यालयका प्रधानाध्यापक ऋषिप्रसाद सुवेदीको अध्यक्षता एवं लालबन्दी–१२, का वडाध्यक्ष दुर्गा आले मगरको प्रमुख आतिथ्यतामा सहयोगी संस्थाले विद्यालयलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछान, सहयोगी संस्था ट्रान्सफर्म नेपालका अध्यक्ष दीपेन्द्र बलम्पाकी, संस्थाका कार्यक्रम संयोजक मिलन इस्माली, शिक्षापे्रमी एवं राजनीतिज्ञ बालकिशोर थापा, बाल क्लबका अध्यक्ष नानीबाबु श्रेष्ठ लगायतले मन्तव्य राखे । शिक्षक टीका श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अर्का शिक्षक नवराज थापाले स्वागत मन्तव्य राखेका थिए । विद्यालयमा संस्थाले शुद्ध खानेपानीको व्यवस्था गरेपछि शिक्षक तथा विद्यार्थीले खुशी व्यक्त गरेका छन् ।

ट्रान्सफर्म नामक संस्थाले यसअघि लालबन्दी नगरपालिका–८, स्थित खतिवडा चौकमा रहेको आधारभूत विद्यालयमा पनि श्रीपञ्चमीका दिन सुद्ध खानेपानीका लागि फिल्टर प्रदान गरेको थियो ।