हरिवनमा ११६ छोरीको शिक्षा बीमा

813
छोरीको शिक्षा बीमा गराउन हरिवन नगरपालिका कार्यालय परिसरमा शुक्रबार दिउँसो बालिका सहित जम्मा भएका स्थानीय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले आज (शुक्रबार)बाट ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम प्रारम्भ गरेको छ ।

कार्यक्रम उद्घाटनकै दिन शुक्रबार ११६ जना छोरीको शिक्षा बीमा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । हरिवन नगरपालिका कार्यालयको परिसरमा निःशुल्क शिविर नै राखेर शुक्रबार वडा नं. ५, ६, ७, १० र ११ मा गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीहरुको शिक्षा बीमा गरिएको हो । दिनभर नगरपालिका कार्यालय परिसरमा शिक्षा बीमा गराउन आएका अभिभावक एवं बालिकाहरुको भिड थियो ।

बीमासँगै उनीहरुको मुद्दती खाता खोली घरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन टोकन समेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । त्यस्तै वडा नं. १, २, ३, ४, ८ र ९ निवासी बालिकाहरुका लागि भने शनिबार पुनः नगरपालिकाकै प्रांगणमा शिविर राखी शिक्षा बीमा गरिने हरिवन नगरपालिकाले जनाएको छ । शिक्षा बीमासँगै बालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले छोरी शिक्षा बीमा कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै आगामी वर्षबाट नगरपालिकाले पनि रकम थप गर्ने प्रतिबद्धता जनाएका छन् ।

२० स्थानीय तह रहेको सर्लाहीमा हालसम्म हरिवनसँगै लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकाले यो कार्यक्रम लागू गरेका छन् । प्रभु बैंकसँगको सहकार्यमा प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत शिक्षा बीमा सूरु गरेको हो । प्रभु बैंकले एक हजार रुपैंया राखेर खोलिदिने बालिकाको खातामा प्रदेश सरकारले १३ हजार रुपैंया जम्मा गरिदिने र २० वर्षपछि उक्त खातामा एकलाख २० हजार रुपैंया पुग्नेछ । अभिभावकले उक्त रकम निकाल्न बीमा गरिएकी छोरीले मावि तहको अध्ययन पूरा गरेको हुनुपर्नेछ ।