टावरमा विष्फोटपछि परवानीपुर सञ्चारविहिन

300

परवानीपुर – सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिका–१६, परवानीपुरमा एनसेलको नेटवर्क अवरुद्ध हुँदा स्थानीय वासिन्दा मारमा परेका छन् ।

जिल्लाको उत्तरी भेगस्थित परवानीपुरमा रहेको एनसेल टावरमा गत सोमबार बिहान साँढे १ बजे अज्ञात समूहले बम विष्फोट गराएको थियो । विष्फोटबाट टावरका विभिन्न उपकरणमा क्षति पुग्दा त्यस क्षेत्रमा एनसेलको नेटवर्क अवरुद्ध भएको हो । ग्रामीण क्षेत्रमा पर्ने परवानीपुरमा अधिकांश एनसेलका सेवाग्राही छन् ।

विष्फोटको घटनापछि लालबन्दी नगरपालिका–१५ र १६ परवानीपुर क्षेत्रका नागरिक सञ्चारविहिन बनेका लालबन्दी नगरपालिका–१६, का वडाध्यक्ष गणेश थापाले बताए । नेटवर्क अवरुद्ध हुँदा स्थानीय वासिन्दाले घर बाहिर रहेका आफन्तसँग सम्पर्क गर्न नपाएका वडाध्यक्ष थापाले जानकारी दिए ।

प्रहरीले टावरमा विष्फोट गराउने समूहको खोजी भइरहेको जनाएको छ । विष्फोटमा सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मानिसको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।