हरिवन महोत्सवमा आज साँझ ‘साकिरा डान्स’ सहित गायिका सहिमा श्रेष्ठले ‘तताउने’

हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा जारी ल्होछार महोत्सवमा आज (विहिबार) साँझ चर्चित गायिका सहिमा श्रेष्ठले प्रस्तुती दिदैछिन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सुर्ती बिकास चौरमा भईरहेको महोत्सवमा साँझ गायिका श्रेष्ठले आफ्ना प्रस्तुती दिने आयोजक नेपाल तामाङ युवा घेदुङ सर्लाहीका अध्यक्ष एवं प्रदेश नं. २ का ईन्चार्ज सचित तामाङले जानकारी दिए । लोकदोहोरी गायिकाको रुपमा चर्चित श्रेष्ठले तिम्रो डोला डोला हातमा मेहन्दी…… लगायत आधा दर्जन नेपाली गीत सहित भोजपुरी गीतहरु समेत गाउने छिन् । साकिरा डान्सको साथमा गीत गाउने श्रेष्ठको प्रस्तुतीले प्रस्तुतीले जाडो मौसममा समेत महोत्सवस्थल तताउने आयोजक समितिका जोनिश पाख्रीनले बताए । त्यस्तै हाँस्य कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका सह–संयोजक पंच लामाले जानकारी दिए । सोनाम ल्होछार प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मुल नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा’ भन्ने मूल नारा सहित महोत्सव आयोजना गरिएको संयोजक तामाङले बताए ।