बागमती र महिला जागृतीको संयुक्त सभा

206
बागमती बचत तथा ऋण सहकारी संस्था र महिला जागृती बचत तथा ऋण सहकारी संस्थाको संयुक्त पहिलो बार्षिक साधारण सभाको पानसमा बत्तिबालेर उद्घाटन गर्दै प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती तथा उपस्थित अन्य अतिथिहरु । (तस्विर : उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – सर्लाहीको बागमती नगरपालिका–११ कर्मैयामा रहेको बागमती बचत तथा ऋण सहकारी संस्था तथा बागमती नगरपालिका–६ राजघाट स्थित महिला जागृती बचत तथा ऋण सहकारी संस्थाको बुधबार संयुक्त साधारण सभा सम्पन्न भएको छ ।

बागमती नगरपालिका–४ जिरायतमा आयोजित सभामार्फत दुबै संस्थाले संयुक्त रुपमा पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । बागमती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बहादुर सिंह खड्काको अध्यक्षतामा सम्पन्न सभाको प्रदेश सांसद डिल्ली प्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

२०७५ साल कात्तिक १२ गतेबाट कारोबार सुरु गरेको बागमती बचत तथा ऋण सहकारी संस्थामा ३ हजार २ सय ४३ जना शेयर सदस्य रहेका छन् । बागमती नगरपालिका–११ कर्मैयामा केन्द्रीय कार्यलय रहेको संस्थाको बागमती नगरपालिक स्थित मिलचोक, शंकरपुर र राजघाटमा गरी ३ वटा सेवाकेन्द्र समेत संचालनमा रहेको छ ।

संस्थाले आर्थिक बर्ष २०७५/०७६ मा ३ करोड १५ लाख ७६ हजार एक सय ६५ रुपैया कारोवार गरेको जनाएको छ । संस्थाले कुल कारोवारबाट १० लाख ५५ हजार ५ सय ९२ रुपैया खुद् नाफा गरेको छ । संस्थाको प्रगती प्रतिवेदन अध्यक्ष खड्काले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रतिवेदन प्रबन्ध निर्देशक देब कृष्ण खड्काले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अधिकांश बक्ताले संस्थाबाट भए गरेका गतिविधिमा शेयर सदस्यहरुले चासो राख्नु पर्नेमा जोड दिएका थिए । एउटै उद्धेश्य रहेको दुई सहकारीले एक भएर शेयर सदस्यहरुलाई सेवा प्रवाहका लागि गरेको पहलको समेत वक्ताहरुले प्रशंसा गरेका थिए । संस्थाले आगामी दिनमा समेत शेयर सदस्यहरुको आर्थिक रुपमा जिवनस्तर उकास्ने गरी कार्ययोजना ल्याउने उल्लेख गरेको छ ।

प्रदेश सांसद उप्रोतीको प्रमुख आतिथ्यमा भएको सभामा प्रदेश सांसद बेची लुंगेली, नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज डाचाराज वाग्ले, नेकपा नेता सुरेन्द्र लामा, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, नेपाली कांग्रेसका बागमती नगर सभापति दिपक कुमार रानाभाट लगाएतको आतिथ्यता रहेको थियो ।