कांग्रेस नेता सिटौलाले भने–‘सरकार अधिनायकवाद उन्मुख’

297
कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौला । (तस्बिर : कृष्ण/उज्यालो अभियान)

कृष्ण प्रसाद थपलिया/लालबन्दी – नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सम्बद्ध तरुण दल लालबन्दी नगर समितिद्वारा शहीदहरुको सम्झनामा आयोजित शहीदहरुको सम्मान एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले वर्तमान सरकारले सुरक्षानिकाय, कर्मचारी हुँदै न्यालयलाई समेत आफ्नो सेवक बनाउँदै अधिनायकवाद उन्मुख बनेको आरोप लगाए । ‘वर्तमान सरकारले राज्यका हरेक अंगलाई राष्ट्रको सेवक भन्दा पनि आफ्नो सेवक बनाउँदै लगेको छ’, पूर्व उपप्रधान एवं गृह मन्त्री समेत रहेका सिटौलाको आरोप थियो, ‘सुरक्षाकर्मी, कर्मचारीलाई आफ्नो कब्जामा लिईसकेको सरकारले न्यायपालिकालाई समेत प्रभावमा पारिसकेको छ ।’

मुलुकको ईतिहाँसमै छिमेकी चिनिया कम्युनिष्ट पार्टीलाई बोलाएर सरकारले खुल्ला रुपमा प्रशिक्षण लिनुले एकतन्त्रीय बन्दै गएको स्पष्ट संकेत भएको सिटौलाको तर्क थियो । ‘मुलुकको ईतिहाँसमै देशका प्रधानमन्त्रीको नेतृत्वमा सरकारका सबै मन्त्री अनि सत्तासिन दलका नेता कार्यकर्ताले खुल्ला रुपमा चिनको कम्युनिष्ट पार्टीबाट प्रशिक्षण लिएका छन्’, सिटौलाले प्रतिप्रश्न गर्दै भने, ‘कम्युनिष्ट पार्टीले सत्ता चलाउने चीनमा के पूर्ण प्रेस स्वतन्त्रता अनि स्वतन्त्र न्यालय छ ? पक्कै छैन अनि त्यस्तो पार्टीले दिएको प्रशिक्षणमा पूर्ण प्रेस स्वतन्त्रता अनि स्वतन्त्र न्यालय सहितको सुदृद्ध लोकतन्त्रको कुरा भयो होला र ?’

प्रधानमन्त्री अनि मन्त्रीहरुले न्यायधिशलाई खुला रुपमै धम्क्याउन थालेको उल्लेख गर्दै सिटौलाले सरकारको यस्तो रबैयाले मुलुक आतंकित बनेको आरोप लगाए । ‘प्रधानमन्त्री अनि मन्त्रीज्यूहरु खुला भाषणमै न्यायाधिशहरुले फैसला गर्दा जानिराखुन्, हाँमीसँग दुईतीहाई छ नि भनेर धम्क्याउन थालेका छन्’, सिटौलाले सशंकित हुँदै भने, ‘अनि संविधानतः काम गर्छु भन्नुपर्ने प्रधानन्यायधिशज्यू सरकारलाई गाह्रो पार्दिन भन्दै सार्वजनिक रुपमा भाषण गर्दै हिँड्नुहुन्छ ।’

वर्तमान सरकार यो देशको मालिक भनेको कम्युनिष्ट मात्र हुन् भन्ने भावना अनुसार चलेको उल्लेख गर्दै उनले जनतालाई दासको रुपमा व्यवहार भईरहेको आरोप लगाए । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको सिटौलाले स्वीकारे । ‘कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा सुरक्षाकर्मी, कर्मचारी, न्यालय सबैतिर सरकारी आतंकले त्रसित बनाएको छ’, उनले भने, ‘यस्तो अवस्थामा निश्पक्ष काम गर्न खोज्ने सरकारी संयन्त्र अनि न्यालयलाई प्रमुख प्रतिपक्षले काँध हाल्न सक्नु पर्दछ ।’

भावना, विचार, संस्कारहिन हुँदै गएकाले कांग्रेसको अवस्था ईतिहाँसमै कमजोर बनेको पार्टीका प्रभावशाली नेता सिटौलाले स्वीकार गरे । ‘पार्टीका नेतामा भावना, विचार र संस्कार मर्दै गएको छ’, उनले भने, ‘त्यसैले मुलुकमा भएका हरेक परिवर्तनको नेतृत्वदायी कांग्रेसको हालत आज यो अवस्थामा पुगेको हो ।’

घरमुलीले समन्वयकारी भूमिका निर्वाह गर्दै परिवारका सबै सदस्यहरुलाई योग्यता र क्षमता अनुसार सम्मान गर्नुपर्नेमा सो नहुँदा कांग्रेस कमजोर बनेको उनको भनाई थियो । नेता कार्यकर्ताको गुण खोज्ने भन्दापनि दोष देखाउने प्रवृत्ति हाँवी हुँदै गएको उल्लेख गर्दै नेता सिटौलाले घरमुलीको रुपमा रहने केन्द्रदेखि हरेक तहका सभापतिले परिवारका सबैलाई मिलाएर हिड्न नसकेको बताए । ‘आप्mनो घर बलियो नहुँदा छिमेकीले हेपिरहेका छन्’, केन्द्रीय सभापति देउवाप्रति ईंगित गर्दै उनले भने, ‘त्यसैले सभापतिजीहरुले सबैलाई मिलाएर पहिला आफ्नो घर बलियो बनाउनु जरुरी छ ।’

तरुण दल लालबन्दी सभापति सुदेश ढुंगानाको अध्यक्षता रहेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत लगायतले सम्बोधन गरेका थिए । महालक्ष्मी एवं बस्नेतले वर्तमान सरकारले दुईतीहाईको दम्भमा मुलुकमा भ्रष्ट्राचारलाई बढावा दिएको आरोप लगाए । मुलुकमा जताततै भ्रष्ट्राचार, अराजकता मौलाएको उनीहरुको आरोप थियो ।

नेविसंघ सर्लाहीका नेता मनोज बख्रेलको सञ्चालन रहेको कार्यक्रममा तरुण दल लालबन्दीका सचिव गोपाल श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा कांग्रेस नेता एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, जिल्ला उपसभापति सुरेन्द्र सिंह, जंगिलाल राय, क्षेत्र नं. १ का सभापति प्रमोद बराल, प्रदेश सांसद् विरेन्द्र प्रसाद सिंह, कांग्रेस नेताहरु दिपक अधिकारी, कुबेर आचार्य, विष्णुमणि घिमिरे, जीत शेरचन, शेष सहदुल्ला, मलंगवा नगरपालिका मेयर निरसल साह, सुरेन्द्र न्यौपाने, नारायण गुर्मछान, भवानी कोइराला, प्रशान्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।