हरिवन माविले ६० औं वार्षिकोत्सव मनायो

1191
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा गुन्युचोली सहितको भेषभुषामा उपस्थित विद्यार्थीहरु । (तस्बिर : उज्यालो अभियान)
वार्षिकोत्सव कार्यक्रममा उपस्थित प्रमुख अतिथि मेयर प्रसाईं लगायत अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका स्थित महादेव जनता नमूना माविले आज (बुधबार) ६० औं वार्षिकोत्सव मनाएको छ ।

हरिवन नगरपालिका–८ पुरानोबजार स्थित विद्यालयले आफ्नै प्रांगणमा विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो । हरिवन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेलको अध्यक्षता एवं मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपमेयर रेणुका पौडेल, शिक्षा उपसचिव नवराज निरौला लगायतको आतिथ्यता रहेको थियो ।

शिक्षक गिरीराज रानाको सञ्चालन रहेको कार्यक्रममा प्रधानाध्यापक जयशंकर सिंहले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यका क्रममा प्रअ सिंहले नमूना विद्यालयका रुपमा अझ बढी विकास गर्न भौतिक पूर्वाधार लगायत विविध निर्माण कार्य सहित शिक्षाको गुणस्तर उठाउन प्रयास भईरहेको जानकारी दिए ।

विद्यालयले उत्कृष्ट कार्य गरेको भन्दै शिक्षकहरु शितल मिश्र, सुमन तिलक सिन्दाली, युग कुमारी घिमिरे, मिथिला कोइराला र जयन्ती भट्टराईलाई नगद सहित कदर पत्रले सम्मान गरेको छ । त्यस्तै वार्षिकोत्सवकै अवसरमा चलेको खेल सप्ताह अन्तर्गत सय मिटर दौड, कुर्सी रेस लगायत खेलमा विजेता विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको सञ्चालक रानाले जानकारी दिए । दिनभर चलेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभूषा सहित नृत्य लगायत साँस्कृतिक प्रस्तुती दिएका थिए ।