हरिवनको महोत्सवमा आज प्रिती आलेले तताउने

हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा जारी ल्होछार महोत्सवमा आज (बुधबार) चर्चित गायिका प्रिती आलेले प्रस्तुती दिदैछिन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सुर्ती बिकास चौरमा भईरहेको महोत्सवमा आज दिउँसोबाट साँझसम्म आलेले आफ्ना प्रस्तुती दिने आयोजक नेपाल तामाङ युवा घेदुङ सर्लाहीका अध्यक्ष एवं प्रदेश नं. २ का ईन्चार्ज सचित तामाङले जानकारी दिए । लोकदोहोरी गायिकाको रुपमा चर्चित आलेले पछिल्लो समय आधुनिक टाईपका गीत समेत गाउने गरेकि छिन् ।

स्टेजमा प्राय ‘हटकेक’ बनेर उत्रिने आलेको प्रस्तुतीले जाडो मौसममा समेत महोत्सवस्थल तताउने आयोजक समितिका जोनिश पाख्रीनले बताए । पाख्रीनका अनुसार भरतपुरबाट आउने क्रममा ढिलाई हुँदा मंगलबार राती ढिलागरी केहीबेर मात्र प्रस्तुती दिन भ्याएकी आलेलाई दर्शकहरुले पुनः प्रस्तुतीका लागि जोडदार माग गरेपछि आज लामो समय गीत गाउने गरी राखिएको हो । त्यस्तै आज हाँस्य कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

भोली बिहिबार भने चर्चित फुच्चि लोक दोहोरी गायिका कमला घिमिरे, हट लोकदोहोरी गायिका ज्योति मगर लगायतको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

आगामी माघ १८ गतेसम्म चल्ने महोत्सव तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका सह–संयोजक पंच लामाले जानकारी दिए ।

‘सोनाम ल्होछार प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मुल नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा’ भन्ने मूल नारा सहित महोत्सव आयोजना गरिएको संयोजक तामाङले बताए ।