सर्लाहीको चक्रघट्टामा ‘बेरोजगारका लागि रोजगारी’ कार्यक्रम प्रारम्भ

398
संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री राय, मुख्यमन्त्री राउत एवं प्रदेशका सामाजिक विकास मन्त्री साह । (तस्बिर ः उज्यालो अभियान)

चक्रघट्टा – सर्लाहीको दक्षिणी भेगस्थित चक्रघट्टा गाउँपालिकाबाट बेरोजगारका लागि रोजगारी कार्यक्रम मंगलवारदेखि सुरु गरिएको छ ।

मंगलवार उद्घाटन कार्यक्रममै चक्रघट्टाका ५४० जनाले रोजगारीका लागि आवेदन दिएका छन् । डीएफआइडी र यूकेएडसँगको समन्वयमा बेरोजगारलाई रोजगारी प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो । कार्यक्रमको मंगलवार चक्रघट्टा गाउँपालिकास्थित बजारमा आयोजित एक समारोहका बीच संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, प्रदेश दुईका मुख्यमन्त्री मोहम्मद् लालबाबु राउत र प्रदेश दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि संघीय मन्त्री यादवले युवालाई सकेसम्म स्वदेशमै रोजगार गर्न आग्रह गर्दै विदेश जानु परेपनि सीप सिकी दक्ष भएर मात्रै जान आग्रह गरे । यस्तै मुख्यमन्त्री लालबाबु राउतले सबै क्षेत्रमा रोजगारी सिर्जना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । उनले कार्यक्रममा छोरी शिक्षा बीमा अभियानमा सहयोग गर्न सबैसँग अपिल गर्दै अभियान लागू भएपछि प्रदेशका छोरीहरुमाथि भइरहेको विभेद हट्दै जाने विश्वास व्यक्त गरे ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सञ्जय राय, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. भोगेन्द्र झा, साझेदार संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । रोजगारीको आशमा कार्यक्रममा स्थानीय बेरोजगार युवाको समेत ठूलो संख्यामा उपस्थिति थियो ।

श्रम मन्त्री राय, मुख्यमन्त्री राउत लगायतले चक्रघट्टाको कार्यक्रममा सहभागी हुनु अघि मंगलवार दिउँसो बागमती र सासापुरमा निर्मित गलैँजा उद्योगको निरीक्षण गरेका थिए । जहाज डिले हुँदा मन्त्री रायको चक्रघट्टामा आयोजित कार्यक्रम अपरान्ह ४ बजेपछि मात्रै सुरु भएको थियो । निर्धारित समयभन्दा धेरै समयपछि सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्पन्न भएको थियो ।