केन्द्रीय टोलीद्वारा सर्लाहीमा उखु र चिनी उद्योगको समस्यामा सुझाव संकलन

174
मंगलबार बिहान हरिवनमा सुझाव संकलन गर्न आएको केन्द्रीय टोली तथा छलफलमा सहभागिहरु । ( तस्बिर : उज्यालो अभियान)

हरिवन – उखु किसान र चिनी उद्योगीको समस्या दिर्घकालिन रुपमा समाधान गर्न सुझाव संकलन गर्ने केन्द्रीय टोलीले मंगलवार दिनभर सर्लाहीमा बिताएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सहित अधिकृतहरु तथा एकजना कृषि र उद्योग क्षेत्रका विज्ञ सहित ६ जनाको टोली सुझाव संकलनका लागि सर्लाही आएको हो । टोलीले बिहान हरिवन नगरपालिका कार्यालयमा मेयर गणेश प्रसाद प्रसाईंको अध्यक्षतामा कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेती सहित किसान नेताहरु, ईन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाल, उखु प्रबन्धक योगनारायण रजक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा किसानले किन वर्षौंदेखि उखुको भुक्तानी किन पाउन सकेनन् तथा चिनी उद्योगले किन भुक्तानी दिन सकेनन् एवं सरकारी अनुदान भुक्तानीमा समेत किन ढिलाई भईरहेको छ ? भन्ने लगायत बारेमा केन्द्रीय टोलीले उद्योगका प्रतिनिधि, किसानका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग सुझाव लिएको थियो ।

मेयर प्रसाईं, किसान प्रतिनिधि लगायतले उखु खरिद बिक्रीमा बजारमा आलु किनबेच भएजस्तै हाताहाती भुक्तानी पाउनु पर्ने, सरकारी अनुदान भुक्तानी कार्यविधीलाई खुकुलोपन बनाउनुपर्ने, समायानुकुल उखु र चिनीको मुल्य वर्षेनी समायोजन हुनुपर्ने सुझाव दिएका थिए । त्यस्तै जनप्रतिनिधि, किसान नेता लगायतले उद्योगबाट मोलासिस्, स्प्रिट, बकास, मलखाद लगायत उत्पादन हुने भएपनि उद्योग व्यवस्थापनले ती सबै उत्पादनबाट पाउने मुनाफालाई लुकाउँदै चिनी उत्पादनमा घाटा लागेको देखाउने गरेको गुनासो समेत गरे । त्यस्तै जनप्रतिनिधि एवं किसान नेताहरुले चिनीमा आत्मनिर्भर हुँदै गरेको मुलुकमा अन्य राष्ट्रबाट चिनी आयात गरी सरकारले चिनी उद्योगलाई प्रताडित बनाउने तथा त्यस्ता कार्यबाट उखु खेती गर्ने किसानलाई निरुत्साहित गर्ने काम भईरहेको भन्दै ध्यानाकर्षण समेत गराएका थिए ।

त्यस्तै दिउँसो केन्द्रीय टोली गोडैता नगरपालिका कार्यालयमा पुगेको थियो । गोडैता नगरपालिकाका मेयर देवेन्द्र राय यादवको संयोजनमा केन्द्रीय टोलीले सुझाव संकलन गरेको छ । सुझाव संकलन पश्चात टोलीले बगदह स्थित महालक्ष्मी चिनी उद्योगको निरीक्षण समेत गरेको थियो ।

सुझाव संकलन गर्ने केन्द्रीय कार्यदलको टोली बुधबार महोत्तरी जाँने टोलीका सदस्य उद्योग विभागका उपसचिव विनोद खड्काले जानकारी दिए ।