सर्लाहीको गलैंचा तालिममा संघीय मन्त्री र मुख्य मन्त्रीको निरीक्षण

755
तालिमस्थलमा कार्यक्रम सम्बद्धबाट भएको ‘व्रिफिङ’ सुन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादव, मुख्यमन्त्री राउत लगायत । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती नगरपालिकामा भईरहेको गलैंचा बुन्ने तालिमको मंगलबार दिउँसो संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत एवं प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा निरीक्षण गरेका छन् ।

मन्त्री यादव, मुख्यमन्त्री राउत र सामाजिक बिकास मन्त्री साहले बागमती नगरपालिका–१, शान्तिचोकमा सञ्चालन भईरहेको गलैंचा बुन्ने तालिम स्थलमा झण्डै आधाघण्टा बिताए । उनीहरुले आयोजकले गरेको ‘व्रिफिङ’ सुन्ने तथा गलैंचा बुनेको दृष्य हेर्ने काम गरेका थिए । सर्लाहीकै चक्रघट्टा गाउँपालिकामा सूरु गर्न लागिएको ‘बेरोजगारीका लागि रोजगार’ कार्यक्रम उद्घाटन गर्न आएका तीनैजनाले बीच बाटोमा पर्ने गलैंचा बुन्ने तालिमस्थलको समेत निरीक्षण गरेका हुन् ।

गलैंचा बुन्ने तालिम सम्बन्धी कार्यक्रम सम्बद्ध विजया राईका अनुसार युके एडको सहयोगमा लेबल सेट भन्ने गैर सरकारी संस्थाले बुनकरहरुलाई गुणस्तरीय तालिम दिईरहेको छ । राईका अनुसार हाल शान्ति चोकमा ३७ जना र बागमती नगरपालिका भित्रै पर्ने टेकानीमा ४० जनालाई गलैंचा बुन्ने तालिम सञ्चालन भईरहेको छ ।

तालिममा सहभागि बुनकरहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गलैंचा बुन्न सिकाउने काम भईरहेको र आगामी एकवर्ष भित्र सर्लाहीका ५०० जना बुनकर, २५ जनालाई गलैंचा सफ्ट्वेयर ग्राफिक्स डिजाईनर र २५ जनालाई मास्टर टे«नरको तालिम दिईने लक्ष्य लिईएको राईले जानकारी दिईन् । कार्यक्रम अन्तर्गत हरिवन नगरपालिका–३, लामाटोलमा समेत १०० जनालाई तालिम दिन सक्ने गरी पूर्वाधार निर्माण भईरहेकाले केही समयपछि त्यहाँबाट समेत तालिम सञ्चालन हुने राईको धारणा छ ।

राईका अनुसार सर्लाही र मकवानपुरबाट सबैभन्दा बढी बुनकरहरु काठमाडौं स्थित उद्योगमा जाने गरेको तथ्यांकले देखाएपछि प्रथम चरणमा सर्लाहीबाट गलैंचा बुन्ने तालिम सूरु गरिएको हो । ‘काठमाडौं गईराख्ने बुनकरहरुले घरमै बसेर स्थानीय स्तरमै रोजगारी पाउन भन्ने उद्धेश्यले तालिम सूरु गरिएको हो’, उनले भनिन्, ‘साथसाथै गलैंचा कारखाना समेत स्थापनाका लागि स्थानीय स्तरमै तयारी समेत सूरु भईसकेको छ ।’