नेपालमा लागूऔषध ओसार्ने भारतीय महिला पक्राउ

432
जिल्ला प्रहरी कार्यालय मलंगवाले भारतबाट भित्र्याउँदै गरेको अवस्थामा बरामद् गरी केही दिअघि सार्वजनिक गरेको लागूऔषध एवं नगद सहितका सामानहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपालतर्फ लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधीहरु भित्र्याउँदै गरेको अवस्थामा भारतीय महिला पक्राउ परेकी छिन् ।

भारत बिहार राज्य सितामाढी जिल्ला भलुवहा ग्राम पञ्चायत–१३ निवासी ३५ वर्षीया सितादेवीलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । मंगलबार दिउँसो पौने दुई बजे मलंगवा नगरपालिका–८ विद्युत प्राधिकरण कार्यालय अगाडी भारतबाट टाउकोमा बोरा बोकेर आईरहेकी सितादेवीलाई रोकेर चेकजाँच गर्दा बोरा भित्रबाट लागूऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सितादेवीले टाउकोमा बोकेको बोराभित्र गहुँ हालेर त्यस भित्र लागूऔषध बरामद् गरिएको सशस्त्र प्रहरीले बतायो । सशत्रस्त्र प्रहरी जिल्ला सुरक्षा बेस मलंगवाका अनुसार बोराभित्रबाट २ एमएलको नोर्फीन ९९ थान, २ एमएलकै डाईजेपाम ९७ थान र २ एमएलकै प्रोमेथाजिन ईन्जेक्शन ९९ थान बरामद् गरिएको छ ।

बरामद् लागूऔषध सहित भारतीय महिलालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा मंगलबार दिउँसै बुझाईएको सदरमुकाम मलंगवा स्थित सशस्त्र बेसले जनाएको छ ।