हरिवनको तामाङ ल्होछार महोत्सव आज भोजपूरी स्टारले तताउँदै

भोजपुरी गायक सुनिल पण्डित

हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा जारी ल्होछार महोत्सवमा आज (सोमबार) भोजपुरी गीत संगीतका स्टार सुनिल पण्डितले प्रस्तुती दिने भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सुर्ती बिकास चौरमा भईरहेको महोत्सवमा आज दिउँसोबाट साँझसम्म भोजपुरी सुपरस्टार गायक पण्डितले आफ्ना प्रस्तुती दिने आयोजक नेपाल तामाङ युवा घेदुङ सर्लाहीका अध्यक्ष एवं प्रदेश नं. २ का ईन्चार्ज सचित तामाङले जानकारी दिए । पण्डितले गनाके खेतमे….., होई जाईय जिनगी……लगायत डेढ दर्जन चर्चित गीतहरु गाउँने आयोजकले जनाएको छ । जाडो मौसममा ‘भल्गर’ टाईपका पण्डितको भोजपुरी गीतले महोत्सव स्थल तताउने आयोजकको विश्वास छ ।

आगामी माघ १८ गतेसम्म चल्ने महोत्सव तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका सह–संयोजक पंच लामाले जानकारी दिए । छेवाङ लामा, कर्णराज गिरी लगायतले प्रस्तुती दिईसकेको महोत्सवमा गायकहरु प्रमोद खरेल, कमल खत्री, छेवाङ लामा, अभिराम मोक्तान, श्याम पाख्रीन, गायिकाहरु मेलिना राई, ज्योति मगर, प्रिती आले, कमला घिमिरे, सहिमा श्रेष्ठ, सुनिता थोकर, हाँस्य कलाकार जोगेन्दर पानवाला शिवशंकर रिजाल, सुरेन्द्र केसी, डान्सर लक्ष्मी अधिकारी तथा पूजा अधिकारी लगायत कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका जोनिस पाख्रीनले जानकारी दिए ।

‘सोनाम ल्होछार प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मुल नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा’ भन्ने मूल नारा सहित महोत्सव आयोजना गरिएको संयोजक तामाङले बताए ।