बसको ठक्करबाट बालिका सहित दुईजनाको मृत्यु

188

जानकीनगर – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा आइतवार अपरान्ह स्कुल बसको ठक्करबाट सडकमा खेलिरहेकी बालिकाको मृत्यु भएको छ ।

जानकीनगरमा विद्यार्थी पुर्याएर फर्किदै गरेको ई–लाईट आवासिय विद्यालय हरिवन नगरपालिका–६, घुर्कौलीको ना. १ क ७०४८ नम्वरको बसले ठक्कर दिँदा त्यही ठाउँका सुरेन्द्र साहकी दुई वर्षकी छोरी गीताञ्जली साहको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

यसैबीच नयाँरोड–बरहथवा सडक अन्तर्गत सर्लाहीको बाग्मती नगरपालिका–२, मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सदरमुकाम मलङ्गवाबाट बरहथवाका लागि छुटेको ग. १ ख ८१४० नम्वरको बसले ठक्कर दिँदा सोही ठाउँका ५२ वर्षीय छेवाङ दोर्जे थिङको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय वासिन्दाका अनुसार मानसिक सन्तुलन ठीक नभएका छेवाङ गाडी देख्ने बित्तिकै सडकमा निस्कन्थे ।