समस्यामा जेलिँदै कविलासी नगरपालिका

261
शुक्रबार आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर राय । (तस्बिर : प्रकाश/उज्यालो अभियान)

प्रकाश मैनाली/कविलासी – राजनीतिक किचलोमा फसेको सर्लाहीको कविलासी नगरपालिकाको विवाद समाधान हुुनुका साटो थप समस्यामा जेलिँदै गएको छ ।

कविलासी नै घर भएका प्रदेश सभा सदस्य संजय यादवका कारण काम गर्नै गाह्रो भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो अन्यत्र सरुवा गराएर गएपछि विगत एक महिनादेखि नगरपालिका कार्यालय ठप्प जस्तै छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नगर सभाबाट पारित ५५ करोड रुपियाँ विकास बजेट प्रभावित भएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रदेश सभा सदस्य यादवको आतंकका कारण जो अधिकृत आएपनि नटिक्ने गरेकाले नगरपालिकाको विकास नै प्रभावित भइरहेको नगरप्रमुख कौशलकिशोर रायले बताउँदै आएका छन् । उनले शुक्रवार आफ्नै कार्य कक्षमा पत्रकार सम्मेलन गरी प्रदेश सभा सदस्य यादवको दादागिरीका कारण यो वर्ष नगरपालिकाका सबैजसो योजनाहरु प्रभावित भएको आरोप लगाए ।

तर प्रदेश सभा सदस्य यादवले भने उज्यालो अभियानसँग कुरा गर्दै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर व्यापक अनियमितता गरेको दाबी गरेका छन् । उनले आफ्नो तर्फबाट कर्मचारीलाई धम्काउने, तर्साउने कुनै काम नभएको दावी गर्दै तीन वर्षअघि देखि नगरपालिकाको हरहिसाब माग्दा पनि नपाएको बताए । राजनीतिक किचलोका कारण कविलासीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन मानेका छैनन् भने हाल कार्यरत कर्मचारीले पनि असहजता महसुस भएको गुनासो गर्दै आएका छन् ।