चालकको आँखा र मुटु जाँच्दै ट्राफिक प्रहरी

337
चालकको स्वास्थ्य परीक्षण गर्न नवलपुर चोकमा आयोजित स्वास्थ्य शिविर । (तस्बिर : अच्यूत/उज्यालो अभियान)

अच्यूत कुमार सापकोटा/नवलपुर – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीका नवलपुर चोकमा ट्राफिक प्रहरीको पहलमा शुक्रवार चालक र यात्रुहरुको निःशुल्क रुपमा आँखा र रक्तचाप परीक्षण गरिएको छ ।

चालकहरुका लागि मात्रै नवलपुर चोकमा स्वास्थ्य शिविर आयोजना गरेपनि यात्रुले समेत आँखा र रक्तचाप परीक्षण गराएका सर्लाहीका ट्राफिक प्रहरी प्रमुख (इन्सपेक्टर) सूर्यनारायण यादवले उज्यालो अभियानलाई जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले हरिवनस्थित सुखेपोखरी आँखा अस्पताल एण्ड पोलिक्लिनिक प्रालिसँग समन्वय गरी आँखा र रक्तचाप परीक्षण गर्न निःशुल्क शिविर आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

चालकको आँखा कमजोर हुँदा र रक्तचाप ठीक नहुँदा सवारी दुर्घटनाको जोखिम हुने भएकाले उनीहरुलाई सचेत गराई स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी निरीक्षक यादवले बताए । सवारी दुर्घटना न्यूनिकरण गर्न सर्लाहीमा ट्राफिक प्रहरीले बेला–बेलामा यस्तो किसिमको स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।