हरिवनमा ल्होछार महोत्सव सुरु, नगर प्रमुख प्रसाईद्धारा उद्घाटन

1505


तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा मंगलवारबाट ल्होछार महोत्सव सुरु भएको छ । महोत्सवको मंगलवार दिउँसो हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले उद्घाटन गरेका हुन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सुर्ती बिकास चौरमा मंगलवारदेखि सुरु भएको महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ । तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक नेपाल तामाङ युवा घेदुङ सर्लाहीका अध्यक्ष एवं प्रदेश नं. २ का ईन्चार्ज सचित तामाङले जानकारी दिए । महोत्सवमा होटल, स्थानीय कृषि उपज, विभिन्न वितिय संस्था, व्यापारिक सहित ६० वटा स्टल रहेका छन् ।

आयोजकका अनुसार महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुती दिनेछन् । महोत्सवमा गायकहरु प्रमोद खरेल, सुनिल पण्डित, कमल खत्री, कर्णराज गिरी, छेवाङ लामा, अभिराम मोक्तान, श्याम पाख्रीन, गायिकाहरु मेलिना राई, ज्योति मगर, प्रिती आले, कमला घिमिरे, सहिमा श्रेष्ठ, सुनिता थोकर, हाँस्य कलाकार जोगेन्दर पानवाला शिवशंकर रिजाल, सुरेन्द्र केसी, डान्सर लक्ष्मी अधिकारी तथा पूजा अधिकारी लगायत कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका जोनिस पाख्रीनले बताए ।

महोत्सवमा रोटे पिङ, झुला, सर्कस लगायत मनोरञ्जनयुक्त आकर्षणहरु समेत रहने छ । महोत्सव अवलोकनका लागि प्रवेश शुल्क प्रति व्यक्ति ५० रुपैंया राखिने आयोजकले जनाएको छ । महोत्सव स्थलमा होटलका लागि प्रति स्टल १८ हजार ५०० रुपैंया तथा अन्य व्यापारिक स्टललाई ८ हजार ५०० रुपैंया शुल्क तोकिएको आयोजक समितिले जनाएको छ ।