‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध म्याद थप

591



‘मिटरब्याजी’ आरोपी सर्लाही बरहथवा घर भएका रामबाबु राय यादवविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले सोमवार प्रहरीलाई सात दिनको म्याद प्रदान गरेको छ ।

मिटरब्याजमा ऋण लगानी गरेर सयौंलाई बिल्लीबाठ बनाएको आरोपमा पक्राउ परेका यादवविरुद्ध अनुसन्धान गर्न अदालतले प्रहरीलाई दोस्रो पटक सोमवार सात दिनको म्याद दिएको हो । यादवविरुद्ध पुस २९ गते ठगी मुद्दा दर्ता भएको थियो ।

ठगीको आरोप लागेपछि हुलिया परिवर्तन गरी भाग्दै गर्दा यादवलाई प्रहरीले पुस २३ गते सर्लाहीकै हरिपुरबाट पक्राउ गरेको थियो । त्यसबेला यादवमाथि प्रहरीलाई दुव्र्यहार गरेको आरोपमा मुद्दा दायर गरी हिरासतमा राखिएको थियो । पछि पीडितले ठगी मुद्दा दायर गरेपछि अहिले यही मुद्दामा अनुसन्धान जारी छ ।

अर्का ‘मिटरब्याजी’ आरोपी सञ्जय साह रौनियार भने अझै फरार छन् । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका निवासी रौनियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।