कांग्रेसले जिल्ला प्रशासनमा बुझायो विरोध पत्र

431
जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउनु अघि आइतवार दिउँसो कांग्रेसले सदरमुकाम मलंगवामा निकालेको ¥याली । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, माघ ५ – नेपाली कांग्रेसले आइतवार सर्लाहीसहित देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ ।

नागरिकको मौलिक हकमा कोही कसैले कुनै प्रकारबाट हस्तक्षेप र बन्देज लगाउन नमिल्ने ध्यानाकर्षणसहित कांग्रेसले आइतवार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको हो । केन्द्रबाट निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीमार्फत सर्लाहीमा पनि विरोध पत्र बुझाइएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले जानकारी दिए । उनका अनुसार विरोध पत्र बुझाउनु अघि सदरमुकाम मलंगवामा ¥याली निकालिएको थियो ।

कांग्रेसले बुझाएको विरोध पत्रमा सूचना प्रविधि विधेयकले संविधान प्रदत नागरिकको अधिकार हनन गर्न लागिएको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । नागरिकको फोन ट्यापिङ्ग समेत गर्न सक्ने, सामाजिक सञ्जालमा कसैले ब्यङ्ग गरे बापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन हुने र आचोलन एवं व्यङ्ग गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्रका विरुद्ध देशभर एकैसाथ विरोध पत्र बुझाई सरकारको ध्यानार्षण गराएको कांग्रेसले जनाएको छ । कांग्रेसले शहीदहरुको शहादतले प्राप्त लोकतान्त्रिक हक अधिकार तथा संविधानद्वारा प्रदत मौलिक हकको रक्षार्थ जुनसुकै कदम चाल्न बाध्य हुने ज्ञापन पत्र मार्फत सरकारलाई चेतावनी समेत दिएको छ ।