हरिवनको ल्होछार महोत्सव राष्ट्रिय कलाकारले ‘तताउने’

महोत्सव स्थलमै आईतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारी एवं अतिथिहरु । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – तामाङ समुदायको नयाँ वर्ष २८५६ औं सोनाम ल्होछार पर्वको अवसरमा सर्लाहीको हरिवनमा आगामी माघ ७ गतेदेखि ल्होछार महोत्सव हुने भएको छ ।

आईतबार पत्रकार सम्मेलन मार्फत आयोजक समितिले महोत्सव बारेमा जानकारी गराएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सुर्ती बिकास चौरमा आगामी माघ ७ गतेदेखि १८ गतेसम्म महोत्सव चल्ने आयोजक नेपाल तामाङ युवा घेदुङ सर्लाहीका अध्यक्ष एवं प्रदेश नं. २ का ईन्चार्ज सचित तामाङले जानकारी दिए । घेदुङका सचिवालय सदस्य समेत रहेका सचितले तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताए ।

आयोजक समितिका सह संयोजक पंच लामाका अनुसार होटल, स्थानीय कृषि उपज, विभिन्न वितिय संस्था, व्यापारिक सहित ६० वटा स्टल रहने महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुती दिनेछन् । महोत्सवमा गायकहरु प्रमोद खरेल, सुनिल पण्डित, कमल खत्री, कर्णराज गिरी, छेवाङ लामा, अभिराम मोक्तान, श्याम पाख्रीन, गायिकाहरु मेलिना राई, ज्योति मगर, प्रिती आले, कमला घिमिरे, सहिमा श्रेष्ठ, सुनिता थोकर, हाँस्य कलाकार जोगेन्दर पानवाला शिवशंकर रिजाल, सुरेन्द्र केसी, डान्सर लक्ष्मी अधिकारी तथा पूजा अधिकारी लगायत कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका जोनिस पाख्रीनले जानकारी दिए ।

होटलका लागि प्रति स्टल १८ हजार ५०० रुपैंया तथा अन्य व्यापारिक स्टललाई ८ हजार ५०० रुपैंया शुल्क तोकिएको आयोजक समितिले जनाएको छ । महोत्सवमा रोटे पिङ, झुला, सर्कस लगायत मनोरञ्जनयुक्त आकर्षणहरु समेत रहने छ । महोत्सव अवलोकनका लागि प्रवेश शुल्क प्रति व्यक्ति ५० रुपैंया राखिने आयोजक समितिका संयोजक सचित तामाङले जानकारी दिए । ५ वर्ष मुनीका बालबालिका एवं ६५ वर्ष माथिका वृद्धवृद्धालाई भने महोत्सवमा प्रवेश निःशुल्क गरिने आयोजक समितिले जनाएको छ ।

माघ ११ गते पर्ने ल्होछारकै दिनभने तामाङ समुदायकै भेषभूषा, झाँकी, कला संस्कृतिको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । जाडो मौसममा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले महोत्सव स्थल तताउने आयोजकको अपेक्षा छ ।

‘सोनाम ल्होछार प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मुल नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा’ भन्ने मूल नारा सहित महोत्सव आयोजना गरिएको प्रचार प्रसार समितिका संयोजक राजु लो तामाङले जानकारी दिए ।

आयोजक समितिका संयोजक सचित तामाङको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य अर्जुन योञ्जन, नेपाली कांग्रेसकी नेतृ सोनी बम्जन, अन्तरपार्टी महिला संजाल लालबन्दीकी अध्यक्ष शारदा बान्तवा लगायतको आतिथ्यता रहेको थियो ।