सर्लाहीमा प्रहरीद्वारा फेरि गाँजाका बोट नष्ट

698
फँडानी गरिएको गाँजाका बोट आफ्नो सवारी साधनमा राख्दै प्रहरी । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, नरेशखोरमा लुकाईछिपाई लगाइएको गाँजा प्रहरीले शनिबार नष्ट गरेको छ ।

शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक हजार दुई सय बोट हरियो गाँजा नष्ट गरेको हो । स्थानीय वासिन्दाले घरको करेसा बारीमा गोडमेल र मलजल गरी गाँजा लगाएको पाइएको प्रहरी निरीक्षक गुरुङले बताए । प्रहरी गाउँमा आउनासाथ कतिपय स्थानीय वासिन्दाले हतारहतार गाँजा टिपेर घरमा लुकाएका थिए । त्यसरी लुकाईएको गाँजा पनि बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

सर्लाही प्रहरीले लागूऔषध गाँजाको खेती नष्ट गर्न अभियान नै चलाएको छ । केही साता अघिमात्रै जिल्लाको हरिवन नगरपालिका–१, बेलडाँडा र लालबन्दी नगरपालिका–१४, नारायणखोलामा व्यवसायिक किसिमले ठूलो क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।