लालबन्दीमा डेंगुको संक्रमण नियन्त्रण उन्मुख

476
कार्यक्रममा मन्तव्य राख्दै लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा डेंगुको संक्रमण नियन्त्रण हुुँदै गएको पाइएको छ ।

यस आर्थिक वर्षमा नगरपालिका भित्र डेङ्गुका ३१ जना बिरामी फेला परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा १८ र निजी स्वास्थ्य संस्थामा परीक्षण गराउँदा १३ जनामा डेंगु भएको पुष्टी भएको हो । गएको भदौ, असोजमा देखा परेपनि त्यसपछि डेंगुका नयाँ बिरामी फेला नपरेका प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा. चन्दन चौधरीले जानकारी दिए । शुक्रवार लालबन्दी नगरपालिका सभा हलमा डेंगु नियन्त्रणका लागि सञ्चारकर्मीलाई आयोजित अभिमुखीकरण कार्यक्रममा डा. चौधरीले नगरपालिका भित्र डेंगुको संक्रमण नियन्त्रण उन्मुख रहेको बताए ।

डेंगुको संक्रमण नियन्त्रण गर्न नगरपालिकाले लार्भा नष्ट गर्ने, स्वास्थ्यकर्मी परिचालन गरी जनचेतना जगाउने, प्रचारप्रसार गर्ने जस्ता कार्यक्रम गर्दै आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुबाट बच्न राती वा दिउँसो सुत्दा झुलको प्रयोग गर्न र घर वरपर पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले डेंगु नियन्त्रणका लागि नगरपालिकाले सबै संयन्त्र प्रयोग गरिरहेको बताए । कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरी, उप–संयोजक सुरेन्द्र खतिवडा र जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।