सर्लाहीमा पनि सुरु भयो छोरी शिक्षा बीमा कार्यक्रम

2033
विहिबार ईश्वरपुरमा छोरी शिक्षा बीमा कार्यक्रम सूरुवात गर्ने क्रममा एक अभिभावकलाई छोरीको बीमा प्रमाण–पत्र प्रदान गर्दै प्रदेश दुईका वन वातावरण तथा पर्यटन मन्त्री रामनरेश राय एवं उपस्थित ईश्वरपुरका मेयर मनोज देवकोटा लगायत । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीसहित प्रदेश २ का आठै जिल्लामा बिहिवारबाट एकैसाथ छोरी शिक्षा बीमा कार्यक्रम सुरु भएको छ ।

प्रदेश २ सरकारले निकै महत्व दिएर अघि बढाएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत सर्लाही जिल्लामा पनि बिहिवारबाट छोरी शिक्षा बीमा कार्यक्रम सुरु भएको हो । सो अभियानको बिहिवार मध्यान्ह ईश्वरपुर नगरपालिका–६, बयलवास बजारस्थित नारायण जनता प्राथमिक विद्यालयको प्राङगणमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

सर्लाही नै निवासी मन्त्री रायले कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारले प्राथमिकता दिएर सुरु गरेको अभियानलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरे । उनले कार्यक्रम कार्यान्वयनमा आएपछि प्रदेश २ मा छोरीमाथि भैरहेको विभेद र हिंसामा न्यूनिकरण हुँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा अभियानको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य उपेन्द्र महतो, नगर उपप्रमुख एकावती देवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उद्घाटनसँगै बिहिवारबाट नगरभित्र २०७५ साल माघ १ गतेपछि जन्मिएका छोरीहरुको बीमा गराउन सुरु गरिएको छ । शिविरमा छोरीको बीमा गराउन अभिभावकको बिहिवार अपरान्हसम्म नै घुइँचो लागेको थियो ।

अभियान उद्घाटनकै अवसरमा छोरीहरुको खाता खोल्न आयोजित शिविरमा बिहिवार एकैदिन २४४ जना छोरीहरुको बीमा गरिएको ईश्वरपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको अति विकट क्षेत्र वडा नं. १२, कालिन्जोर घारीबथानका स्थानीय वासिन्दाको सहजताका लागि कालिन्जोरस्थित वडा कार्यालयमा सुक्रवार बेग्लै शिविरको आयोजना गरिएको नगरप्रमुख देवकोटाले बताएका छन् । उनले कालिन्जोरवासीलाई विकटतालाई मध्यनजर गर्दै गाउँमै शिविर राख्न लागिएको जानकारी दिए ।

छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपियाँको खाता खोल्दिने छ भने सो खातामा प्रदेश सरकारले १३ हजार रुपैँया जम्मा गर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । सो खाताको रकम छोरी २० वर्ष पुगेपछि प्ल टू उर्तिण गरेपछि मात्रै निकाल्न पाइन्छ । २० वर्षसम्म खाताको रकम एक लाख पुग्ने छ । यस्तै यो अभियानको बिहिवार नै प्रदेशका अन्य जिल्लामा पनि एकैसाथ फरक–फरक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ ।